नदी र खोलामा पानीको बहाव बढेपछि ५ सय मेगावाट विद्युत् उत्पादन बन्द



काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढेपछि ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उनले बताए ।

‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं,’ घिसिङले भने ।

उनका अनुसार उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ । उनले बन्द रहेका विद्युतगृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युतगृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युतगृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।


क्लिकमान्डु