मौसम विभागले भन्यो -चार दिन लगातार पानी पर्छ



काठमाडौं बिहिबारदेखि आगामी आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा भिन्न मिल्दैन, मौसमविद् मानन्धरले भनिन् ।

असार २५ देखि २८ गतेसम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्का अनुसार मनसुनको समयमा १०० मिलीमिटरदेखि माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

त्यस्तै अरु समय ५० मिलीमिटरसम्मको वर्षालाई पनि भारी वर्षा भनिन्थ्यो । अहिले मनसुनको समय भएकाले ५० मिलीमिटरसम्मको वर्षालाई नै हल्कादेखि मध्यम भन्ने गरिन्छ ।

यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको छ ।

पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरोसमेत जान सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले सतर्क रहन सबैमा आग्रह गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणीका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश नं १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता रहन आग्रह गर्दछौँ, प्राधिकरणले एक सूचना जारी गरी भनेको छ ।

प्राधिकरणका अनुसार ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ उपलब्ध हुनेछ ।

सापकोटा चढेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौं फर्किएको छ । सिन्धुपाल्चोक जिल्लामा बाढीले पु¥याएको क्षतिको अवलोकन एवं जानकारी लिन आज बिहान उहाँ सहितको टोली त्यसतर्फ हेलिकप्टरमा जाँदै थियो ।

मौसम प्रतिकुलताका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसे जान नसकेपछि धुलिखेलको आकाशबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भएपछि टोली बाढी प्रभावित क्षेत्र प्रस्थान गर्ने छ । सभामुख सापकोटाको बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

यसैबीच नेपाली सेनाको उद्धार टोलीसमेत बाढी प्रभावित क्षेत्रमा गएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अविरल वर्षासँगै गएको पहिरो तथा बाढीबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

देउवाले भने तत्काल उद्दार टोली पठाऊ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गर्नुभएको हो ।

सभापति देउवाले सिन्धुपाल्चोकका काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिनुभएको छ । आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करिब एक दर्जन घर बगाएको छ भने दुई दर्जन मानिस बेपत्ता भएका छन् । भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।


पुष्प दुलाल