बाढीले सिन्धुपाल्चोकका दुई गाँउमा भीषण क्षति, मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सामान बगायो



काठमाडौं । गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट सिन्धुपाल्चोकको जम्बु, खागदल र बुलकोटेमा ठूलो क्षति भएको छ ।

पहिरोमा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए । घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।

त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढीले त्यहाँस्थित सानो पुलेसो समेत बगाएको छ ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत आज बिहान घटनास्थल जान लाग्नु भएकामा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बाढीका कारण चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत कम्पनीले निर्माण गरिरहेको १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनामा समेत क्षति भएको छ । बाढीमा परी एक चिनियाँ कामदार समेत बगाएको छ ।

यस्तै आयोजनाका लागि ल्याइएका अत्यावश्यक सामग्री समेत बाढीले बगाएको छ । २०७३ को बाढीले समेत समस्यामा पारेको सो आयोजना लकडाउनका कारण धिमा गतिमा निर्माण भइरहेको थियो । आयोजनाका सम्वद्ध अधिकारीका अनुसार विद्युत् गृहमा समेत ठूलो मात्रामा माटो र ढुंगा पसेको छ ।

अन्य सामान बगाएपनि विद्युत् गृह सुरक्षित रहेको भन्दै आयोजनाले क्षतिको मूल्याकंन जारी रहेको छ । चिलिमेका सहायक कम्पनीले निर्माण गरिरहेका अन्य आयोजनाको भौतिक प्रगति राम्रो भएपनि मध्यभोटेकोशीको भने भौतिक प्रगति भने न्यून रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा भीषण वर्षा भइरहेकाले आयोजनामा थप क्षति हुन सक्ने अनुमान समेत गरिएको छ ।


पुष्प दुलाल