उपत्यकाका यी क्षेत्रमा सोमबार र मंगलबार दिनभरी विद्युत् काटिने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार मंगलबार लगातार दुई दिन लोडसेडिङ गर्ने भएको छ ।

प्राधिकरणको भक्तपुर वितरण केन्द्रका अनुुसार अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायकदेखि साँगासम्मका सडक किनारमा रहेका रुख काट्नु पर्ने भएकाले भक्तपुरका विभिन्न स्थानमा विद्युत् काटिन लागेको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायकदेखि साँगासम्मका जोखिममा रहेका सडकका दाँयाबाँयाका रुख हटाउन लागेको हो । नलिनचोक फिडर अन्तर्गत पर्ने नलिनचोक पलाँसे, सुडाल, ताथली, काँक्राबरी, नङग्खेललगायतका क्षेत्रमा सोमबार र मंगलबार लगातार विहान ७ बजेदेखि साँझा ७ बजेसम्म विद्युत् काटिने भएको छ ।

सडक किनारमा रहेका रुखले जोखिम बढाएको भन्दै भक्तपुरका विभिन्न स्थानमा पछिल्ला दिनमा धमाधम रुख काट्न थालिएको छ । यस्तै, कुलेश्वर वितरण केन्द्र अन्तर्गत टेकु- थानकोट तथा टेकु- ताहचल फिडरको टेकु सवस्टेसनदेखि विष्णुमति खोलासम्मको एचटीलाइनको कन्डक्टर परिवर्तन गर्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत् काटिन लागेको हो ।

प्राधिकरणका अनुसार कुलेश्वर, रविभवन, लिंक मार्ग, कालिमाटी, ताहचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लुलगायतका क्षेत्रमा सोमबार साँझ ५ बजेसम्म विद्युत कटौती हुनेछ ।


क्लिकमान्डु