लकडाउनमा पनि पौने ३ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आयो, विदेशबाट ७५ करोड



काठमाडौं । लकडाउनकै बीचमा पनि विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका सूचना अधिकारी बिनोद खड्काका अनुसार चैत र बैशाख महिनामा विदेशी लगानीको प्रतिबद्धता शुन्य भए पनि जेठ महिनामा भने आएको बताए ।

उनका अनुसार लकडाउनका बीचमा स्वदेशी र विदेशी गरी २ अर्ब ७४ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ ।

स्वदेशी कम्पनीमध्ये जगदम्बा मास्क प्रालिले रुपन्देहीमा ५ करोड मास्क उत्पादनको प्रतिबद्धता जनाएको छ । उसले १९ करोड ६० लाख रुपैयाँ लगानी गर्ने छ ।

त्यस्तै, दुगड इडिबल्स कम्पनीले १५ करोड रुपैयाँको लगानीमा मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा अचार, टमाटर केचप, फ्रुट जाम, कर्नफ्लेक्स र रोस्टेड नट्स उत्पादन गर्नेछ ।

साथै ६६ करोड २० लाख रुपैयाँको लगानीमा नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिले फ्लोर टायल उत्पादन गर्नेछ । कम्पनीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा उद्योग स्थापना गर्नेछ ।

विभागका अनुसार ग्लोवल इनर्जी एन्ड कन्स्ट्रक्सन प्रालिले सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर १० मा ७९ करोड रुपैयाँको लगानीमा ८ मेगावटको सोलार इलेक्ट्रिसिटी उत्पादनको उद्योग स्थापना गर्ने भएको छ ।

विभागका अनुसार जेठ महिनामा मात्रै ७५ करोड २० लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यसबीच ८ वटा कम्पनीले लगानी ल्याउने प्रतिबद्धता जनाएका छन् ।

जसमध्ये ६ वटा चिनियाँ कम्पनी, र एक/एक वटा भारतीय कम्पनीले लगानीको प्रतिबद्धता जनाएका छन् । जसमध्ये कार्गो, रेष्टुराँ, तालिम तथा निर्माण क्षेत्रका लागि लगानीको प्रतिबद्धता आएको हो ।


पुष्प दुलाल