जग्गाको मूल्य नबढ्ने, सरकारले गर्दैछ यस्तो तयारी



काठमाडौं । आगामी वर्ष जग्गाको मूल्य नबढ्ने भएको छ ।

हरेक वर्ष सरकारले जग्गाको न्यूनतम मूल्य बढाउने गर्छ । जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मालपोत कार्यालय तथा स्थानीय तहबीच हुने सहमतिको आधारमा जग्गाको मूल्यांकन बढाउने गरिन्छ ।

तर, कोरोना भाइरसका कारण भएको लकडाउनले आर्थिक क्रियाकलाप शिथिल बनेसँगै आगामी आर्थिक वर्षको लागि सरकारले तोक्ने जग्गाको न्यूनतम मूल्यलाई यथावत राखिने भएको हो ।

असार मसान्तभित्रमा जग्गाको न्यूनतम मूल्यको बारेमा निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले आगामी वर्षको लागि नगन्य स्थानमा मात्र मूल्य बढेपनि अधिकाशं स्थानमा जग्गाको न्यूनतम मूल्यांकलन नबढ्ने बताए ।

‘मूल्यांकन कति गर्ने भन्ने निर्णय सम्बन्धित मालपोत कार्यालय, स्थानीय तह र जिल्ला प्रशासनको सहमतिमा हुने हो, यो वर्ष धेरै स्थानमा मूल्यलाई यथावत राखिने हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

यद्यपी केही स्थानमा पूर्वाधार निर्माण हुने र जग्गाको कारोबार बढ्ने अनुमानको आधारमा मूल्य भने बढ्छ ।

‘हरेक वर्ष सबै ठाउँमा बढ्ने गरेको जग्गाको न्यूनतम मूल्य यो वर्ष बढ्ने छैन,’ उनले भने ।

अघिल्लो वर्ष काठमाडौं उपत्यकामा आनाको १० लाखसम्मले सरकारको न्यूनतम मूल्य बढेको थियो ।

सरकारले राजस्व प्रयोजनका लागि न्यूनतम मूल्य तोकेपनि कारोबार भने त्यती रकममा हुने गर्दैन ।

काठमाडौं उपत्यकामा सबैभन्दा महंगो जग्गा सरकारी मूल्यांकनमा न्यूरोड,दरबारमार्ग, त्रिपुरेश्वरमा आनाको ६० लाख मूल्यांकन गरेको छ । जबकी योभन्दा बढी मूल्यमा बजारमा सो क्षेत्रमा जग्गाको कारोबार हुने गरेको छ ।


पुष्प दुलाल