वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन बैंकर्स संघको माग



C

काठमाडौं । कोरोना भाइसर नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण ऋणीलाई समस्या परेको भन्दै नेपाल बैंकर्स संघले वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउनुपर्ने माग राखेको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले यस्तो माग गरेको हो ।

यो माग व्यवसायीहरुले पनि उठाउँदै आएका थिए ।

‘कोभिड-१९ र सोका कारण भएको बन्दाबन्दी पछिको अवस्थामा व्यक्तिगतरुपमा कर्जा लिई कारोवार गरी रहेकोऋणीहरुको समस्यालाई सम्बोधन गर्नका लागि अर्थिक वर्ष २०७७/७८ का लागि ओभरड्राफ्टलगायत व्यक्तिगत वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन उपयुक्त हुने देखिन्छ,’ संघले भनेको छ ।

त्यसैगरी, साना तथा मझौला उद्योगहरुको विकासका लागि भेन्चर क्यापिटलको विकास आवश्यक रहको र यस्ता कम्पनीहरुबाट साना तथा मझौला उद्योगहरुमा लगानी गर्ने पुंजी जुटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले यस्ता कम्पनीहरुले स्थापना गर्ने कोषको प्रवद्र्धक भई काम गर्न सक्ने नीतिगत व्यवस्था गर्न उपयुक्त हुने संघको सुझाव छ ।

यसमा म्यूच्यूअल फण्डको मोडेलमा समेत काम गर्न सकिने संघले उल्लेख गरेको छ ।

त्यस्तै, साना तथा मझौला उद्योगको कर्जाको विस्तारका लागि एकीकृत कर प्रणालीमा रहेको सम्बन्धित फर्म वा कम्पनीको वित्तीय विवरण सम्बन्धी सूचना समेतलाई आधार लिनु पर्ने तथा स्वीकृत ऋण रकम तथा मिति उक्त प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था कुनै निश्चित सीमाभन्दा बढी रकमको कर्जाको हकमा मात्र लागू गर्न उपयुक्त हुने संघको सुझाव छ ।


पुष्प दुलाल