कस्ता सवारीलाई जोर-बिजोर लागू हुँदैन ? बैंकका कर्मचारी पुरानै पासले हिँड्न पाउने



काठमाडौं । सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली पुराना पास भएका सवारी साधानमा लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै हिँड्न पाउने छन् ।

लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर-बिजोर प्रणाली लागू गरेको भएपनि यसअघि जारी गरिएको पास भने खरेज नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले बताए ।

‘बैंकिङ कर्मचारीलाई पासमा हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ‘ पहिलेको पास नभएकालाई भने जोर-बिजोर प्रणाली लागू हुन्छ ।’

साथै सञ्चारकर्मीलाई भने कतैपनि रोक नहुने उनले बताए । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाहरुलाई २ पटक गरेर पास वितरण गरिसकेको छ ।

पहिलो पटक प्रत्येक वाणिज्य बैंकलाई २० वटा, प्रत्येक विकास बैंकलाई १० वटा, प्रत्येक वित्त कम्पनीलाई ८ र प्रत्येक लघुवित्त संस्थालाई ६ वटाको दरले पास वितरण गरेको थियो ।

त्यसपछि सरकारले कर तिर्ने समय तोकेपछि राजश्व संकलन गर्ने कार्यालयमा बढी कर्मचारी खटाउनु पर्ने भएपछि बैंकहरुको अनुरोधमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र २७० वटा पास वितरण गरिसकेको छ ।

सरकारले लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटीअनुसार उपत्यकाका ३ जिल्लाभित्र र उपत्यका बाहिरका जिल्लाभित्रमा हुने गरी निजी सवारीमा जोर-बिजोर प्रणाली लागू गरी सवारी साधान आजबाट खुला गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार हाल लागू गरिएको जोर-बिजोर प्रणाली दमकल, एम्बुलेन्स, फोहोर व्यवस्थापनका सवारी साधान र सबै प्रकारका ढुवानीका सवारी साधनमा लागू हुँदैन ।


पुष्प दुलाल