सोमबारदेखि सेयर बजार खुल्ने, मोडालिटीको विषयमा छलफल हुँदै
काठमाडौं । धितोपत्र बोर्ड असार १ गतेदेखि सेयर बजार खोल्ने तयारीमा जुटेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सरकारले जेठ ३२ गतेसम्म लकडाउन गरेको छ । तर यो बीचमा लकडाउन केही खुकुलो बन्दै गएको छ ।
लकडाउन खुकुलो बन्दै गएपछि धितोपत्र बोर्ड पनि बजार खोल्ने तर्फ जुटेको हो । तर कुन मोडलमा बजार खोल्ने भन्नेमा अझै पनि निर्णय हुन सकेको छैन । यसको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से), मर्चेन्ट बैंक, ब्रोकर एशोसिएसन र लगानीकर्तासँग छलफल गरेर बजार खोल्ने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।
‘यसको लागि हामी सबैसँग शनिबार वा आइतबार आवश्यक छलफल गर्छौ, छलफल गरेर बजार खुल्ने छ । अब बजार नखुले हुँदैन । बजार खुल्नैपर्छ’ उनले भने । उनका अनुसार अहिलेसम्म बजार खोल्नु भनेर कतैबाट पनि निर्देशन नआएको उनको भनाइ छ ।
यसअघि बजार वैशाख ३० र ३१ गते दुर्य दिन खुलेको थियो । त्यो बेला बजार दैनिक २ घन्टा (११ देखि १ बजेसम्म) कारोबार भएको थियो । लकडाउनको बीचमा खुलेको बजारमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टी गर्दा २ प्रतिशतसम्म परिवर्तन हुने व्यवस्था गरी समग्र दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न नेप्सेलाई बोर्डले निर्देशन दिएको थियो ।
यस्तै नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्न निर्देशन दिएको थियो । दुई दिनको कारोबार सोही अनुसार नै भएको थियो । तर अब बजार खुल्दा यो मोडलबाट नभइ पुरानै मोडलबाट अर्थात लकडाउन हुनु अगावैको मोडलमा बजार खोल्नु पर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटनले बताए ।
अब खुलेको बजारमा समयलाई तत्कालीन ५ घन्टालाई घटाएर ३ वा ४ कायम गर्न सकिने भएपनि अन्य व्यवस्थाहरु परिवर्तन गर्न नहुने उनको सुझाव छ । ‘हामी पनि अहिलेको समय लाई ३ वा ४ घन्टा कामय गर्न आग्रह गर्छौ, अरु कुरा यथावत राखेर नै बजार खोल्नुपर्छ ।’
अध्यक्ष रानाभाटले सरकारले लकडाउनको मोडल परिवर्तन गर्नेभएसँगै असार १ गतेबाट बजार खोल्नुको विकल्प नरहेको बताए । अब कुनै पनि हालतमा बजार बन्द गर्नु हुँदैन र आगामी दिनमा यो बन्द भएको समयलाई पाठको रुपमा सिकेर अघि बढन आवश्यक रहेको बताए ।
अब पनि बजार खुल्न नसके बजारप्रतिको विश्वसनियता कमजोर हुँदै जाने रानाभाटको तर्क छ । बजार खुलेसँगै लकडाउनले बजारमा परेको क्षतीलाई कम गर्दै लैजाने सोच रहेको रानाभाटले बताए । अहिले धितोपत्र बोर्ड ३२ गतेपछिको लकडाउन कसरी अघि बढने भन्ने सरकारको निर्णय कुरेर बसेको छ । यता नेप्से पनि अब बजार खोल्नै पर्छ भन्ने पक्षमा रहेको छ ।
अब पनि बजार नखोल्ने हो भने के कारण बजार बन्द गरेको भनेर कुनै निकायले सोधेको खण्डमा त्यसको प्रष्ठ जवाफ दिने आधार नभएको भन्दै अब बजार पुरानै मोडलमा खोल्नुको विकल्प नभएको नेप्सेका एक अधिकारीले क्लिकमाण्डूलाइ बताए ।