सेयर बजार खुलाउन माग गर्दै सर्बोच्चमा रिट
काठमाडौं । सेयर बजार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवत्ताद्वय रपिश पोखरेल र हरि प्रसाद दाहालले सेयर बजार खुल्ला गरिपाऊँ भनेर रिट निवेदन दायर गरेका हुन् ।
धितोपत्र बोर्डले कानून विपरित सेयर बजार बन्द गर्दा लगानीकर्ताको सम्पत्ति बन्धन भएको भन्दै बजार खोल्न माग गर्दै रिट दायर गरेका हुन् ।
उक्त रिट उपर ३२ गते अदालतमा पेशी तोकिएको छ ।
धितोपत्र बोर्डले धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९० को उपदफा (१) को खण्ड (घ) बमोजिम धितोपत्र बोर्डले धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिन सक्ने व्यवस्था रहेको छ ।
उक्त ऐनमा बढीमा ५ दिनसम्मका लागि बजार बन्द गर्न आदेश दिन सक्ने व्यवस्था हुँदाहुँदै नेपाल स्टक एक्सचेन्जलाई ५ दिन भन्दा बढी कयौ दिन लकडाउन अवधिभर बन्द गरीनु न्यायोचित मान्न नसकिने रिट निवेदनमा उल्लेख छ ।
रिट निवेदनमा यो अवस्थामा अदालतबाट उत्प्रेषण परमादेश तथा उपयुक्त आदेश पूर्जी जारी गरी दोस्रो बजार मार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार डिजिटल÷अनलाइन कारोबारबाट नियमित गराइ नेप्सेले धितोपत्र ब्रोकरहरुबाट अनलाइन खरिद बिक्री सेवा मार्फत धितोपत्र बजार खुला गराइ सर्वसाधारण जनतालाई बाँच्नको लागि नगद प्राप्त गर्ने माग्र प्रशस्त गर्न अनुरोध गरिएको छ ।
रिट निवेदनमा धितोपत्र बजारको दोस्रो बजारको रुपमा रहेको नेप्से लामो अवधिसम्म बन्दगरिनु समग्रमा लाभदायक नभएको उल्लेख छ । यसबाट संविधान प्रदक्त विभिन्न मौलिक हकहरुको हनन् भएको उल्लेख छ । निवेदकहरु पनि धितोपत्र कारोबारमा सम्बद्ध भएको हुँदा सम्मानित अदालतबाट उत्प्रेषण परमादेश तथा उपयुक्त आदेश पूर्जी जारी गरी दोस्रो बजार मार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार डिजिटल÷अनलाइन कारोबारबाट नियमित गराइ मौलिक कहहरु प्रचलित गराउन अनुरोध गरिएको छ ।
नेपालको संविधानको धारा १७ को उपधारा (२) को खण्ड (च)ले प्रत्येक नागरिकलाई नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग तथा व्यापार व्यवसायको स्थापना र सञ्चालन गर्न स्वतन्त्रता प्रदान गरेको छ ।
धारा २५ को उपधारा (१) अन्तर्गत प्रत्येक नागरिकलाई कानूनको अधिनमा रही अन्य कारोबार गर्ने, व्यवसायिक लाभ प्राप्त गर्ने र सम्पतिको अन्य कारोबार गर्ने हक प्रदान गरेको छ ।
बोर्डको निर्णयले नेपाली नागरिकको धितोपत्र कारोबार सम्बन्धी पेशा तथा व्यवसाय गर्ने हक हनन् भएको छ । धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक प्रदान गरेको भएपनि नेप्सेसँग कारोबार हुने धितोपत्रहरुको समय सान्दर्भिक वर्तमान मूल्यको सूचना नभएको रिट निवेदनमा उल्लेख छ ।
वर्तमान अवस्थामा बजार मूल्यमा धितोपत्रहरु कारोकार नभएको र बजारमा धितोपत्रहरुको कारोबार मूल्य निर्धारण गरी सर्वसाधारणलाई सूचना जारी गर्ने जिम्मेवारी स्टकको रहेको निवेदनमा उल्लेख छ ।
अदालतमा आज (बिहीबार) रिट दायर भएको हो ।