जलमार्गलाईभन्दा बढी बजेट पानीजहाज कार्यालयलाई



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जलमार्गभन्दा पानीजहाज कार्यालयलाई बढी बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको आयोजनाका लागि सरकारले बजेट विनियोजन गर्दा पानीजहाज कार्यालयलाई भन्दा जलमार्गलाई कम बजेट दिएको हो ।

सरकारले आगामी आर्थिक वर्षमा नेपाल पानीजहाज कार्यालयलाई ७ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै जलमार्गका लागि ८३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको हो ।

सरकारले २०७५ फागुन २ गते पानीजहाजको कार्यालयको स्थापना गरेको थियो ।

सरकारले यसअघि नै कोरोनाका कारण अर्थतन्त्र संकटमा परे पनि रेलमार्ग र जलमार्ग प्राथमिकता दिने बताएको थियो ।

बजेट आउनुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सुरुङमार्ग, रेलमार्ग र जलमार्गका आयोजनाहरुलाई तीव्रता दिने बताएका थिए ।

उनले आगामी आर्थिक वर्षको २०७७/७८ मा सडक निर्माणलाई प्राथमिकतामा राखी निर्माणधीन दु्रतमार्ग, व्यापारीकमार्ग, उच्चगतियुक्त राजमार्ग निमार्णका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने बताएका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन अगाडि पूर्वपश्चिमसहित चीनबाट काठमाडौंमा रेल ल्याउने र नेपाली नदीहुँदै पानीजहाज समुन्द्रमा चलाउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले २०७६ सालभित्र नेपालमा पानीजहाज चल्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीले भनेको समयमा पानीजहाज नचलेपनि कार्यालय भने सञ्चालनमा आइसकेको छ । यसका लागि सरकारले छुट्याएको बजेटले प्राविधिकसहित १६ जना कर्मचारीको तलबभत्ता बाहेक सामान्य अनुसन्धानको काम मात्रै हुने देखिएको छ ।


क्लिकमान्डु