वस्तु विनिमय बजार सञ्चालन गर्न इच्छुकलाई कम्पनी खोल्न पूर्व स्वीकृति दिँदै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बन्द बजारलाई लामो अवधिसम्म जान दिन नहुने बताएका छन् ।

बोर्डको २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस विषयमा बोर्ड पनि सचेत रहेको जानकारी दिए ।

उनले बजार खुलाउने विषयमा बोर्डसँगै सम्बद्ध पक्ष नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकरलगायत लगानीकर्तासँग के कसरी सहजरुपमा कारोवार सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेकोे बताए ।

लकडाउनका कारण बजार बन्द भएको भन्दै लगानीकर्ताहरुको बजार पँहुच सहज हुन नसकेको र बहुमत लगानीकर्ताहरु अनलाइन कारोबारमा आवद्ध हुन नसकेकाले सरकारसँगको समन्वयमा पुनः लकडाउन अवधिभरका लागि दोस्रो बजार कारोबार बन्द रहेको जानकारी गराए ।

उनका अनुसार चालु आर्थिक वर्षको १० महिनामा धितोपत्रको प्राथमिक बजारमा प्राथमिक, हकप्रद सेयर, ऋणपत्र तथा सामूहिक लगानी योजना समेत गरी ३० वटा निष्काशनमार्फत ३० अर्ब ८९ करोड रुपैयाँको पुँजी परिचालन भएको छ ।

धितोपत्रको दोस्रो बजारमा १ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँको धितोपत्र कारोबार भई बजार पुँजीकरण मूल्य १५ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ ।

यस अवधिमा धितोपत्र बजारलाई पूर्ण स्वचालित बनाउने प्रयासहरु समेत अगाडि बढाइएको र हाल धितोपत्रको डिम्याट खातामा आवद्ध हुने लगानीकर्ताहरुको कुल संख्या १६ लाख ६० हजार पुगी देशको धितोपत्र बजारमा सहभागी हुने लगानीकर्ताहरुको संख्या कुल जनसंख्याको ५.४ प्रतिशत पुगेको अध्यक्ष ढूंगानाले बताए ।

बजारबाट सरकारलाई अन्य करहरुका अतिरिक्त पुँजीगत लाभकर वापत ८८ करोड ८३ लाख रुपैयाँ राजस्व प्राप्त भएको उनले बताए ।

यसवर्ष कोरोना शुरु हुनु अगाडि बजारको अवस्था निकै सुधारोन्मूख लयमा भएको र धितोपत्र वार्षिक कारोबार गतवर्ष १ खर्ब १० अर्ब रुपैयाँ रहेकोमा चालु आवको १० महिनामा १ खर्ब ३१ खर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै दैनिक औषत कारोवार गत वर्षको ४४ करोडबाट बढेर ८३ करोड रुपैयाँ रहेको छ । दश महिनाको अवधिमा कारोवार भएको कुल सेयर संख्या र कारोबार संख्या दुबैमा बढोत्तरी भएको छ ।

चालु आर्थिक वर्षमा धितोपत्र बजारको सुधार तथा विकास र धितोपत्र व्यावसायीहरुको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्य लिई हकप्रद सेयर निष्काशन सम्बन्धी व्यवस्था थप प्रभावकारी बनाउन, विदेशी लगानी भित्र्याउन सहजीकरण गर्न, खुलामुखी योजनाको प्रबद्र्धन तथा सामूहिक लगानी कोष संचालनलाई थप प्रभावकारी बनाउन, धितोपत्र व्यवसायीको स्वामित्व समबन्धी व्यवस्थामा स्पष्टता ल्याउन तथा पँुजी कोष सुदृढ गर्न आवश्यक रहेको बताए ।

धितोपत्र व्यापारी (डिलर) को बजार प्रवेशलाई सहजीकरण गर्न धितोपत्र व्यवसायी, सामूहिक लगानी कोष र धितोपत्र दर्ता तथा निष्काशन नियमावलीहरुमा नेपाल सरकारको स्वीकृतिमा समसामयिक संशोधन गरी बोर्डले २०७६ फागुन १ गतेदेखि लागू गरेको जानकारी गराए ।

बोर्डको जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन गर्न बोर्डलाई आवश्यक पर्ने आफ्नै कार्यालय भवनको व्यवस्था गर्न आवश्यक जग्गा सरकारसँग प्राप्त गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढाएको बताए ।

यस आर्थिक वर्षको समिक्षा अवधिमा बोर्डले लगानीकर्ताहरुलाई लगानीका विभिन्न विकल्पहरु उपलब्ध गराउने उद्देश्य लिई सामूहिक लगानी कोषमा बन्दमुखी कोष सञ्चालन भइरहेकोमा खुलामुखी कोष सञ्चालन अनुमति दिने र विशेष लगानी तथा पुँजी परिचालन अवसरका लागि भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी संचालन अनुमति दिने र वस्तु विनिमय बजार सञ्चालनका लागि इच्छुक कम्पनीहरुलाई कम्पनी स्थापनाका लागि पूर्व स्वीकृति दिने प्रकृया समेत अगाडि बढाएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९का कारण हाल सिर्जित विषम् परिस्थितिबाट आर्थिक गतिविधिहरु शिथिल हुँदै गएको अवस्थामा दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालनको गतिशील माध्यमको रुपमा रहेको धितोपत्र बजार र कृषि उपज तथा अन्य विशेष वस्तु कारोवारको मूल्य निर्धारण तथा जोखिम व्यवस्थापनको माध्यमको रुपमा रहेको वस्तु विनिमय बजारको महत्व अझ बढ्दै गएको उनको तर्क छ ।


क्लिकमान्डु