अब ‘कोरोना बीमा’ नहुने, पुँजीभन्दा ठुलो दायित्व सिर्जना भएपछि बीमा कम्पनी पछि हटे



काठमाडौं । पुँजीभन्दा ठुलो दायित्व लिएका बीमा कम्पनीहरु आफ्नो जिम्मेवारीबाट पटि हट्न थालेका छन् । कोरोना भाइरसको बीमा गराउने निर्जीवन बीमा कम्पनीहरु अहिले थप कोरोना जोखिम दिन पछि हटेका हुन् ।

संक्रमण बढेसँगै जोखिमको दायित्व कम्पनीहरुले वहन गर्न नसक्ने निर्णय गरी नेपाल बिमक संघले बीमा समितिमा लिखित निर्णय बुझाइसकेको बिमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिए ।

‘बीमा समिति र नेपाल बीमक संघबीचमा भएको छलफल पश्चात कोरोना बीमा स्थगित हुने सहमति भएको छ,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ‘कोरोना बीमाको जोखिम बढी भएको हुँदा कोरोना बीमाको ढाँचा परिवर्तन सम्म बीमा लेख जारी नगर्ने संघको निर्णयलाई बीमा समितिले तपाइहरुले सक्नु हुन्न भने ठिक छ, भनेर सहमति दिनु भएको हो ।’

सहमतिको पत्र भने बीमा समितिबाट संघमा आउन बाँकी रहेको उनले जानकारी दिए ।

कोरोना बीमाको जोखिम वहन बीमा पुलको माध्यमबाट गर्ने सहमति भएको थियो । अब बीमा पूलबाट सबै बीमा कम्पनी बाहिरीने संघमा सहमति भएको हो ।

‘केही दिन अघिबाट १÷२ वटा कम्पनीहरु पूलबाट बाहिने भनेर पत्राचार गर्न थालेका थिए,’ क्षेत्रीले भने ‘पूलबाट बाहिरीने भनेका १÷२ वटा कम्पनी मात्र हुँदैनन्, जोखिम बहन गर्न सक्ने अवस्थामा कुनै कम्पनीहरु छैनन् ।’

सबै बीमा कम्पनी बीमा पूलबाट बाहिरीने सहमति गरी अर्को निर्णय नहुँदासम्म कोरोना बीमा स्थगित हुने उनले बताए ।

सरकारले साउनबाट लागु हुने गरी कोरोना बीमा कार्यक्रम र त्यसमा सहुलियतको घोषणा गरी सकेको छ । सरकाले घोषणा गरिसकेको कार्यक्रमका लागि दिशा निर्देशन के हुन्छ त्यसको निर्णयमा बिमक संघ रहेको महासचिव क्षेत्रीले बताए ।

‘सरकारले कस्तो कार्यदिशा बनाउँछ र पोदिसीको मोटालिटी कस्तो हुन्छ त्यसअनुसार आगामी दिनमा कोरोना बीमालाई कसरी अगाडि लैजाने वा के गर्ने निर्णय हुन्छ,’ उनले भने, ‘आजसम्म जति कोरोना बीमा भयो अब भोलिबाट अर्को निर्णय नहुँदासम्म कोरोना बीमा कम्पनीहरुले गर्दैनन् ।

बिमक संघल लिखित पत्र बुझाएर विभिन्न चरणमा बीमा समितिसँग छलफल गरेपछि समितिले स्थगित गर्न सहमति दिन बाध्य भएको हो ।

बीमा समितिले पर्याप्त अनुसन्धान तथा जोखिम विश्लेषण नगरी अघि बढाएको कारण २ महिना नपुग्दै कोरोना बीमा पोलिसी स्थगित भएको छ ।

नेपालमा तीव्र रुपममा फैलिएको कोरोना भाइरसको बीमा हुदाँ जनतालाई बीमामा विस्वास बढेको थियो । यसरी जोखिमको दायित्व बहन गर्ने नसक्ने निर्णय गरी पोलिसी नै बन्द हुन्दा जनतामा बीमा सक्म्बन्धी विस्वास हराउने देखिन्छ ।

हालसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुले २ लाख ९६ हजार ६१६ जना व्यक्तिको १६ करोड २३ लाख ३७ हजार ७७५ रुपैयाँ बराबरको कोरोना बीमा गराइसकेका छन् ।

कोरोना बीमाको हालसम्मको अवस्थामा के भयो ?

कोरोना बीमा नेपालमा करिब २ महिनाअघि शुरु भएपनि बीमा लेख जारी गर्नेको लागि विदेशी पुनरबीमा कम्पनीहरुको प्रारम्भिक रिइन्स्योरेन्स सम्झौता भने समितिले गरेको थिएन्, भने हालसम्म पनि कोरोना बीमाको विदेशी पुर्नबीमा कम्पनीहरु यसको रिइन्स्योरेन्स गर्न तयार भएका छैनन् ।

विदेशी पुनरबीमा कम्पनीसँग रिइन्स्योरेन्सको सम्झौता बीमा नै बीमा लेख जारी गरेको समितिले बीमा पूल अन्तर्गत जोखिमको दायित्व बहन गर्ने व्यवस्था लागू गरेको छ ।
जसअन्तर्गत बीमितले गरेको कोरोना बीमाको २० प्रतिशत नेपाल पुनरबीमा कम्पनीले र बांकी ८० प्रतिशत २० वटा निर्जीवन बीमा कम्पनीले बराबर जोखिमको दायित्व बहन गर्नु पर्ने हुन्छ ।

बीमा समितिले कोरोना बीमा लेख जारी गर्ने समयमा नेपालमा कोरोना संक्रमित १६ जना मात्र थिए भने यसको फैलावट पनि सुस्त थियो । तर हाल दैनिक सय जनाभन्दा बढी संक्रमित थपिने क्रम बढ्दो छ, भने संक्रमितको संख्या नै २ हजार नाघिसकेको छ ।

यसरी कोरोना संक्रमितको संख्या बढेसँग कोरोना बीमा गराउने मानिसहरु पनि ह्वातै बढिरहेको छ । दुई महिना नबित्दै करिब ३ लाख व्यक्तिले कोरोना बीमा गराइसकेका छन् ।

कोरोना बीमा अन्तर्गत २ प्रकारका बीमा लेख जारी भएका छन् । जसमा ५० हजार र १ लाख रुपैयाँको बीमा लेख हुन् । ५० हजारको बीमा लेख खरिद गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क तोकिएको छ ।

यसैगरी १ लाख रुपैयाँको कोरोना बीमा लेखमा प्रतिव्यक्ति एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमा शुल्क तोकिएको छ । कोरोना भाइरसको बीमा लेखको १५ दिन प्रतिरक्षा अवधि तोकिएको छ । यस अवधि सकिएपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बिमितले दाबी भुक्तानी प्राप्त गर्नेछन् ।

बीमा समितिले महाविपत्तिको बीमा नहुने भए पनि विश्वका अन्य मुलुकहरुको बताउँदै आएका छन् । कुनै पनि बीमा लेखको कम्पनीहरुले आफै जोखिम बहन गर्न नसकेर पुर्नबीमा गराएका हुन्छन् । दाबी परेमा केही प्रतिशत मात्रध कम्पनीले र बाँकी सबै पुनरबीमा कम्पनीले गरिदिन्छ ।

तर कोरोना बीमाको भने पुनरबीमा नै नभएको कारण बीमा पुलमार्फत २० प्रतिशत नेपाल पुनरबीमा कम्पनीले र बाँकी दायित्व २० वटा कम्पनीहरुले बराबर लिने सम्झौता गरेका छन् ।

हाल २० वटा निर्जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्म चुक्ता पुँजी १६ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीहरुको बीमा कोषमा १२ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ५६ करोड ३ लाख रुपैयाँ छ ।


पुष्प दुलाल