कर्मचारी युनियनका नेता भन्छन्- सरकारले कर्मचारीको भत्ता कटाएर ठीक गर्यो



काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनका महासचिव सुवास देवकोटाले सरकारले कर्मचारीको अतिरिक्त भत्ता कटाएर ठीक गरेको बताएका छन् । मन्त्रालय, राम्रो विभागका पहुँचवाला कर्मचारीले मात्र उपयोग गर्न पाइरहेकोे अतिरिक्त भत्ता सरकारले कटाएर ठीक गरेको उनको भनाइ हो ।

अत्तिरिक्त भत्ता कटाउ हुँदा आम कर्मचारीलाई कुनै असर नपर्ने हुँदा युयिनले यस प्रकारको भत्ता कटाउ गर्ने सरकारसँग ५ वर्षअघिबाट माग गरेको उनले बताए ।

‘हाम्रो युनियनले ५ वर्षदेखि अघिबाट यस्तो भत्ता कटाउनु पर्छ भन्दै सरकारलाई सुझाव दिइरहेका थियौँ,’ उनले क्लिकमाण्डूसँग भने ‘यो वर्ष कोरोनाको बहानामा नै भएपनि यस्तो भत्ता कटौती भएको छ, आम कर्मचारी खुसी छन् ।’

आम कर्मचारीले पाउने महंगी भत्ता सरकार नकटाएको हुँदा यसले आम कर्मचारीलाई कुनै असर नपर्ने उनको तर्क छ ।

सरकारी कर्मचारीलाई बजेटले बनायो निराश, तलब बढेन सबै खाले भत्ता खारेज

सरकारले बजेट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै साउनदेखि कर्मचारीले पाउँदै आएको अत्तिरिक्त समय वापतको भत्ता कटौती गर्ने घोषणा गरिसकेको छ ।

निजामती कर्मचारीहरुले पाउने भत्तामा एकरुपता नहुँदा कर्मचारी बीच नै मतभेदको वातावरण सिर्जना भएको कारणले भत्तामा एकरुपता ल्याउन युनियनले पहिलेदेखि नै माग गरेकोे उनको भनाइ छ ।

‘त्यस प्रकारको भत्ता जिन्दगीमा फिल्डमा नगएका, ग्रामिण तथा विकट क्षेत्र नगएका शक्ति केन्द्रका नजिक भएका कर्मचारीले मात्र यस्तो भत्ता उपयोग गरेका छन्,’ महासचिव देवकोटा भन्छन् ‘त्यो भत्तामा एकरुपता होस् भन्ने माग हाम्रो थियो, जुन कटौती भएसँग पुरा भएको छ ।’

अतिरित्त भत्ता राष्ट्रपति/उपराष्ट्रपति/प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, योजना आयोग, सर्वोच्च अदालत, संवैधानिक निकाय, निर्वाचन आयोग, महानियाधिवक्ताको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, लगायतका अड्डाका कर्मचारीले मात्र प्रोत्साहनको भत्ता खाइरहेका उनले जानकारी दिए ।

कार्यालय समयभन्दा बढी काममा खटिने कर्मचारी स्वास्थ्यचैकी, भेटनरी, कृषि विभागका कर्मचारी हुलाक लगायत अन्य क्षेत्रका फिल्डमा समेत काम गर्ने निजामति कर्मचारी पनि हुने र उनीहरुले त्यस प्रकारको भत्ता नपाउने उनले बताए ।

‘स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखि उपचार गर्न आउँछन्, समय भएको छैन भनेर सेवा नदिने कुरा आउँदै,’ उनले भने ‘प्रत्यक्ष सेवाग्राहीलाई सेवा दिने निजामति कर्मचारीलाई भनेजति नै बढी समय काम गरेपनि प्रोत्साहन भत्ता छैन ।’

खाइपाइ आएका कर्मचारीलाई भत्ता कटौती हुँदा केही समस्या हुने तर अहिले सरकारले आवश्यकभन्दा बढी दिनु पर्ने भत्ता कटाएको हुँदा यसले आम कर्मचारीलाई कुनै असर नपर्ने उनको भनाइ छ ।

‘सेवाग्राहीको चाप बिहानदेखि रातीसम्म हुने, खाजा खाने फुर्सद पनि नहुने विभागमा भने प्रोत्साहन भत्ता छैन,’ देवकोटाले भने ‘जहाँ सेवाग्राही होइन आवश्यक मान्छे समेत भेट नहुने कार्यालयमा भत्ताको व्यवस्था गरिएको थियो ।’

अनावश्यक भत्ता कटौती गरेर अप्ठ्यारो परिस्थितीमा सरकारले खर्च बचाएकोमा निजामती कर्मचारी युनियनले स्वागत गरेको उनको भनाइ छ ।


पुष्प दुलाल