नेप्सेका सीइओको प्रश्नः विदेशमा बस्नेले अनलाइनबाट कोरोबार गर्न सक्ने, यहाँकाले किन नसक्ने ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कार्यकारी निर्देशक चद्रसिंह साउदले अनलाइन कारोबारको प्रचारप्रसार गर्न नसकेको र लगानीकर्तालाई जानकारी गराउन नसकेको बताएका छन् ।

‘पहिला अनलाइनलाई हामीले विश्वास गर्न सकेनौ । तर अब विश्वास गर्न थालेको छौं’ उनले भने ।

उनले लकडाउनको कारण लगानीकर्ताले अनलाइनको महत्व बुझेकोमा खुसी व्यक्त गरे ।

‘अब बढी लगानीकर्ता अनलाइनमा ल्याउने विषयमा हाम्रो तयारी भइरहेको छ,’ उनले भने ।

साउदले विदेशमा हुने लगानीकर्ताले अनलाइन कारोबार गर्न सक्ने, नेपालमा हुनेले किन नसक्ने ? भन्दै प्रश्न गरेका छन् ।

सेयर बजार अहिलेको अवस्थामा कहिलेसम्म बन्द हुन्छ भन्ने थाहा नभएको भन्दै लकडाउनको समयमा नै आंशिकरुपमा बजार चलाउनु भनेर अर्थमन्त्रालयले भनेपछि २ दिनपछि खोलेपनि त्यो प्रभावकारी नहुँदा बन्द गरेको उनको तर्क छ ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आगामी आर्थिक वर्षको बजेटले पुँजीगत लाभकर ५ प्रतिशत अन्तिम हुने सम्भावना रहेको बताएका छन् ।

‘सरकारले पुँजीगत लाभकरको निक्र्यौल गर्नुपर्छ, आगामी आवको बजेटले यो टुंगो लगाउने सम्भावना छ । हामीले पनि अर्थमन्त्रालयलाई त्यही सुझाव दिएका छौं,’ उनले भने ।

छलफलमा गिरीले भोलि (बिहीबार) आउने बजेटमा धेरै नयाँ कुरा आउने र त्यसले बजारमा प्रभाव छाड्ने बताए ।

एसोसिएसन अफ चार्टर्ड एकाउन्ट अफ नेपाल (एक्यान)ले आयोजना गरेको छलफलमा गिरीले सेयर बजार बैंक सरह भएकाले लामो समय बजार बन्द गर्न नहुने भए पनि आन्तरिक बाध्यताले बन्द गर्नु परेको जानकारी गराए ।

सरकारको निर्देशनमा नै बजार बन्द भए पनि बीचमा खोल्न खोज्दा समस्या भएको उनको तर्क छ ।

उनले छलफलमा अनलाइन कारोबार प्रभावकारी भएपछि कमिसन घटाउनु पर्ने बताए । फिजिकल र अनलाइनबाट हुने कारोबारको कमिसन फरक–फरक हुनुपर्ने उनको तर्क छ ।

उनले सेयर बजारको विस्तारका लागि नयाँ उपकरण ल्याउने विषयमा धितोपत्र बोर्डले अध्ययन गरिरहेको जानकारी दिए ।

अहिले ऋणपत्रको धेरै कारोबार प्रभावकारी रुपमा नभएको भन्दै यसलाई बढाउनका लागि सरकारलाई सुझाव दिएको समेत उनको भनाइ छ ।

त्यसैगरी ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले मार्जिन लेन्डिङका लागि नेप्सेले बनाएको कार्यविधिमा लगानीकर्ता आउने नसक्ने तर्क गरे । २१ जनाले एकवर्ष अघि नै लाइसेन्स लिए पनि नेप्सेले कार्यविधिमा सुधार नगरेको कारण कार्यान्वयन हुन नसकेको उनको दाबी छ ।

मार्जिनमा लगानीकर्ता नै आकर्षित हुन नसकेको बताउँदै उनले नेप्सेले लिने कमिसन पनि ब्रोकरबाट नै जाने भएकाले सबैको बुझाइ रहेकाले, ब्रोकर र नेप्सेको कमिसन छुट्याउन आवश्यक रहेको बताए ।

उनले बैंकको सहायक कम्पनी र ब्रोकरमा के फरक छ ? भन्दै प्रश्न गरेका छन् ।

‘बैंकलाई होइन बैंकको सहायक कम्पनीले सेयर कारोबार गर्ने भनेको हो । बैंकका सहायक कम्पनीलाई भन्दा हामीलाई अनुभव छ । सहायक कम्पनीलाई अनुभव नै छैन,’ उनले भने ।

सहायक कम्पनी नगएको ठाँउमा जान खोज्ने बोर्डले रोकेको उनले आरोप लगाए । उनले अनलाइनमा भएको समस्याको समाधानका लागि कुनै पहल नभएको पनि बताए ।

अहिले भएको ब्रोकर चल्न समस्या भएको समयमा नयाँ थप्नु कतिको उचित हुने भन्दै प्रश्न गरेका छन् ।

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष अम्बिका पौडेल लकडाउको बीचमा बजार खोलेको र त्यसपछि के कारण बजार बन्द भयो भनेर खोजी नगरिएको प्रति प्रश्न गरेका छन् ।

५ दिनमा ५ खर्ब १९ अर्बको बजार पुँजीकरण खस्कँदा पनि नियामकले कुनै ध्यान नदिएको उनको तर्क छ । अब बजार खोल्दा हिजोकै जस्तो भएमा के गर्ने भन्नेमा कसैले पनि ध्यान नदिएको बताए ।

बजार खोल्नुभन्दा अघि लगानीकर्ताको मनोबल बढाउन आवश्यक रहेको पौडेलको भनाइ छ । अन्य क्षेत्रको भन्दा सेयर धितोकर्जाको ब्याज बढी भएको भन्दै यो घटाउन माग गरे ।

उनले बजार घटेको समयमा संस्थागत लगानीकर्ताको उपस्थिती नभएकोमा दुख व्यक्त गरे ।


क्लिकमान्डु