देशभर ३४ हजार ३४७ किलोमिटर विस्तार, सबै तुईन विस्थापित भए



काठमाडौं । आर्थिक वर्ष २०७६/७७ फागुन महिनासम्म मुलुकभर कुल ३४ हजार ३४७ किलोमिटर सडक विस्तार भएको छ ।

मंगलबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण अनुसार १५ हजार २५४ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यस्तै, खण्डास्मित ९ हजार २५१ किलोमिटर र कच्ची सडक ९ हजार ८४२ किलोमिटर सडक विस्तार भएको छ ।

सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/७७ फागुनसम्मा २५२ किलोमिटर माटे सडक, ६५७ किलोमिटर खण्डास्मित र ५५९ किलोमिटर कालोपत्रे सडक स्तरोन्नती भएको छ । त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्मा १५७ किलोमिटर सडक आवधिक मर्मत सम्भार सम्पन्न भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ११२ किलोमिटर सडक आवधिक ममर्त भएको थियो ।

सोही अवधिमा १२९ वटा पुल निर्माण भएका छन् भने गत वर्षको सोही अवधिमा २३० वठा पुल निर्माण भएका थिए ।

आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्म स्थानीय स्तरबाट ६१ हजार ३९५ किलोमिटर सडक निर्माण भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा सडक निर्माण भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको फागुन महिनासम्म १४४ वटा झोलुगे पुल निर्माण भएका छन् भने १२६ वटा तुईमध्ये सबै तुईन झोलुंगे पुलबाट विस्थापित भएका छन् ।


क्लिकमान्डु