६७ अर्ब रुपैयाँले रेमिटेन्स घट्यो, बैकिङ प्रणालीमा ४९ अर्ब २ करोड अधिक तरलता



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वैशाखसम्ममा विप्रेषण आप्रवाहमा भारी गिरावट आएको छ ।

राष्ट्र बैंकको अनुसार २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा करिव ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान रहेको जनाएको छ ।

गत वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । यो अवधिमा विप्रेषण आप्रवाह ६७ अर्ब ६३ करोड रुपैयाँले गिरावट आएको छ ।

राष्ट्र बैंकका अनुसार फागुनमा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा यो रकम घटेर १ अर्ब ६० करोड मा सिमित बनेको छ ।

२०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप संकलन गरेर २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको अपरिष्कृत तथ्याङ्क रहेको छ । २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंकिङ्ग प्रणालीमा सुविधाजनक तरलता रहेको छ । बैशाख महिनामा बैकिङ्ग प्रणालीमा औसत ४९ अर्ब २ करोड रुपैयाँ अधिक तरलता रहेको छ ।

चैतदेखि बैशाखसम्मको अवधिमा ३१ अर्ब ६९ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । यस अन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत् १ अर्ब ५६ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको छ ।

२०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच १ खर्ब ५३ अर्ब २० करोड रुपैयाँ र वित्तीय संस्थाहरुबीच (बाणिज्य बैंकहरुबीच बाहेक) ८ अर्ब ३ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर २०७६ चैतमा २.१३ प्रतिशत रहेकोमा २०७७ बैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकोमा २०७७ जेठ ९ सम्ममा ४५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल, १ खर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको बैदेशिक रोजगार बचतपत्रसमेत गरी १ खर्ब ४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन भएको राष्ट्रको तथ्याङकमा उल्लेख छ ।


क्लिकमान्डु