जलविद्युत आयोजनामा ६ प्रतिशतको स्थिर ब्याजदर कायम गर्न इपानको माग



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत आयोजनाका लागि ६ प्रतिशतको स्थिर ब्याजदर कायम गर्ने बाध्यकारी व्यवस्था गर्न सुझाव दिएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा जलविद्युत आयोजनाको लागि ६ प्रतिशतको स्थिर ब्याजदर कायम गर्न सुझाव दिएको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभावको कारण ब्याजदरमा भएको उतार चढावले जलविद्युत आयोजना निर्माण गर्न लिएको ऋणमा फ्लटिङ इन्ट्रेस रेट १५ प्रतिशतसम्म वार्षिक ब्याज तिर्नुपरेको गुनासो रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा फ्ल्टिङ इन्ट्रस्ट रेट लागू गर्नाले परियोजनाका लागि घातकसिद्ध हुने सुझावमा उल्लेख छ ।

यस्तै इपानले आगामी आवको बजेटको लागि सुझाव दिँदा जलविद्युत आयोजनाहरुलाई शून्य दरको भ्याट लाग्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

आयोजनाहरुको लागत प्रत्येक वर्ष अत्यधिक बढेको भन्दै कुल लागतको १० प्रतिशत मूल्य अभिवृद्धि कर पर्न गएको भन्दै यसमा कम गर्न विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गर्न सुझाव दिइको छ ।

विदेशी लगानी अन्तर्गत परियोजना विकास सम्झौता गरेका आयोजनाहरुलाई ५० प्रतिशत मूल्य अभिवृद्धि कर छुटको व्यवस्था गरेकोमा स्वेदशी परियोजनालाई समेत यो सुविधा दिइ विद्युत् उत्पादनलागत घटाउन सकिने इपानको धारणा छ ।

इपानले निर्यात प्रवद्र्धन गर्ने उद्योगहरुलाई वस्तु निर्यात गरेबापत प्रोत्साहन स्वरुप नगद अनुदान दिँदै आएको छ । यस्तो अनुदानको रकम निर्यातको २ देखि ५ प्रतिशतसम्म रहेको जनाएको छ ।

सरकारले अन्य उद्योगलाई निर्यातमा दिँदै आएको हालको अनुदान जलविद्युत आयोजनाहरुले समेत पाउने व्यवस्था लागू गर्न आगामी बजेटमा समावेश गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु