लकडाउनमा धमाधम जारी कालीगण्डकी करिडोरमा विद्युत प्रसारण लाइनको काम अन्तिम चरणमा



म्याग्दी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्डमा निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी(लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको छ ।

दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेका छन् ।

दाना—कुश्मा खण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए ।

‘वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारीहरु र स्थानीय तहका प्रमुखहरुको दह्रो साथ र सहयोग पाएका छौं, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ,’ उनले भने ।

३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा १ वटा टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

म्याग्दी र पर्वतमा गरी करिब ३ किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । उनले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तिब्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।


क्लिकमान्डु