सिंहदरबारको पुनर्निर्माण जारी, कामदारको स्वास्थ्य प्रमुख प्राथमिकता



काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । अहिले सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ ।

बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भएर अहिले टायल, मार्वल एवं पेन्टिङको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताए ।

विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उनको भनाइ छ ।

कामदारहरुलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती–न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए ।

चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिए । लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः सुरु भएको छ ।


क्लिकमान्डु