संसदभित्रै गोकुल बाँस्कोटाले विनोद चौधरीप्रति आक्रोश पोखे, भने- अनुदान पनि खाने ?



काठमाडौं । अर्बपति विनोद चौधरी र गोकुल बाँस्कोटाबीचको निजी झगडा संसदभित्र समेत प्रवेश गरेको छ । बाँस्कोटा सञ्चारमन्त्री हुँदा सिजी टेलिकमको लाइसेन्सका विवादमा चौधरी र बाँस्कोटाबीचको विवाद छताछुल्ल भएको थियो ।

चौधरीसँगको विवाद सतहमा आएको केही दिनभित्रै तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिशनका लागि डिल गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएलगत्तै उनले राजिनामा दिएका थिए ।

यो अडियो सार्वजनिक हुनुमा चौधरीको हात रहेको बाँस्कोटा निकटहरुको बुझाइ छ ।

सोमबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा संसदका हैसियतले बोल्दै बाँस्कोटाले विनोद चौधरीप्रति आक्रोश पोखे ।

सरकारी अनुदानमा शुरु भएको एसटीएमको स्वामित्व यसरी पुग्यो बिनोद चौधरीको हातमा (सम्पूर्ण विवरण)

‘अबका दिनमा निजी क्षेत्र पनि इमानदार बन्नुको विकल्प छैन, निजी क्षेत्रले सँधै सरकारसँग सहुलियतमात्रै खोज्नु भएन, यस्तो बेलामा सहुलियतका नाममा सरकारलाई असहयोग हुने काम गर्नु भएन,’ बाँस्कोटाले भने- ‘कुनै-कुनै निजी क्षेत्र ग्राण्ड (अनुदान) बाट आएको पैसाले पनि काम गर्दैैनन् । यस्ता निजी क्षेत्रसँग सरकारले सम्झौता गर्दा ध्यान दिनुपर्छ ।’

उनले आगामी दिनमा निजी क्षेत्रलाई सहुलियत खोेज्ने काममा नलाग्न बताए । कोरोनाले नेपालको अर्थतन्त्र सिथिल बनाएको भन्दै यो बेलामा निजी क्षेत्र इमान्दार भएर लाग्नु पर्ने उनको जोड थियो ।

बाँस्कोटाभन्दा केही समयअघि संसदमा बोलेका चौधरीले अहिले अर्थतन्त्र संकटमा परेको भन्दै निजी क्षेत्रलाई छुट दिन कन्जुस्याईँ गर्नु नहुने बताएका थिए । विभिन्न देशका सरकारले छुट दिएको दलिल प्रस्तुत गर्दै चौधरीले नेपाल सरकारले पनि निजी क्षेत्रलाई दुहुनो गाई बिरामी परेको सम्झेर उपचारका लागि खर्च गर्न लोभ गर्नु नहुने बताएका थिए ।

अहिले सरकारले धेरै राम्रो काम गरेको भन्दै बाँस्कोटाले सरकारको कामको तारिफ गर्न योग्य भएको बताए । उनले सामाजिक सुरक्षा भकारीले थोग्ने गरी लैजानु पर्ने भन्दै लोकप्रियताको नाममा भकारीले थेग्न नसक्ने नगर्न आग्रह गरे ।

उनले नेपाली उद्योगलाई चलायमान बनाएर अघि बढनु पर्ने बताए ।


पुष्प दुलाल