नेपालको विजुली भारतलाई नबेच्न शेखर गोल्छाको सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारलाई नेपालको विधुत भारतमा बिक्री नगर्न सुझाव दिएका छन् ।

संसदीय समितिको अर्थ समितिको बैठकमा उनले सरकारले भारतलाई विजुली बेच्नुको साटो नेपाली उद्योग व्यवसायीलाई सस्तो दरमा दिन आग्रह गरेका छन् ।

उनले सरकारले भारतलाई बिजुली बेचेर पैसा कमाउनु भन्दा नेपाली उद्योगिलाई २० प्रतिशत छुट १५ महिनाको लागि छुट दिन सुझाव दिए । उनले सरकारले नेपाली उद्योगलाई सस्तोदरमा बिजुली दिएमा आन्तरिक उत्पादन बढ्ने र देशमा नै रोजगारी बढाउन सक्ने बताए ।

बैठकमा उनले बैंकले लिने हालको ब्याजदरलाई घटाएर ५ प्रतिशतमा झार्नुपर्ने बताए । बैकहरुले नाफामा आएएको संकुचनमा मन नदुखाउने हो भने बैकले ३ वर्षको लागि ५ प्रतिशत ब्याज दिनुपर्ने बताए ।

उनले भने ‘बैकको ब्याजदर ३ वर्षको लागि ५ प्रतिशत हुनुपर्छ, पुनकर्जा १ खर्ब चाहियो । पुनःकर्जा त्यसमा ३ देखि ५ वर्ष अवधिको हुनुपर्छ । अहिले नाफामा चलेकाले मात्रै पुनकर्जा पाएका छन । यो कर्जा साना र मझौला उद्योगले पनि पाउने वातावरण हुनुपर्छ ।’

व्यवसायीले सरकारसँग लिनुपर्ने भ्याटबापतको रकम रोकिएरको भन्दै तरलता आवश्यक परेको समयमा उक्त पैसा दिन सरकारलाई आग्रह गरेका छन् ।

व्यवसायिले सरकारलाई आर्थिक भार नहुने सुझाव दिएको र सरकारले पनि त्यही अनुसारको राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । यसअघि राष्ट्र बैकले ल्याएको अनुदान स्वागत योग्य भएपनि अपुग रहेको र यस्तो राहत नबढाए व्यवसायिको मनोबल गिर्ने बताए ।

ऋणको साँवा, ब्याज भुक्तानीको लागि सरकारले गरेको घोषणाको समय सीमा स्पष्ट नभएको र समय सीमा स्पष्ट गरेपछि एक हप्ताको समय प्रदान गरी १० प्रतिशत छुट पाउने व्यवस्था गर्नुपर्ने बताए ।

बिहीबार अर्थ समितिमा कोरोनाले उद्योग, व्यापार व्यवसाय र अर्थतन्त्रमा परेको संकटबाट पुनर्उत्थानको लागि भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सामुहिक रुपमा सुझाव समेत दिएका छन् ।

 


पुष्प दुलाल