६० दिनका लागि आप्रवासीलाई प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा




बाल्टिमोर । आफ्नो देशमा आउने आप्रवासीहरुलाई अस्थायीरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले कम्तीमा ६० दिनको लागि प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

मंगलबार ह्वाइट हाउसमा आयोजित प्रेस व्रिफिङमा उनले कम्तीमा ६० दिनको लागि आप्रवासी सम्बन्धि सबै प्रक्रिया स्थगित गर्ने र आवश्यक परे लम्ब्याउने वा घटाउने विषयमा आफ्नो टिमले निर्णय गर्ने बताए ।

अमेरिकामा थप आर्थिक तथा रोजगारीको भार कम गर्नको लागि विभिन्न आप्रवासी भिषामा आउनेहरुलाई रोक्ने उनको भनाई थियो । अमेरिकन नागरिकको रोजगारी सुरक्षाको लागि त्यसो गर्न लागेको उनले बताए । उक्त निर्णयपछि अब अमेरिकामा डिभीलगायतका भिषामा आएर स्थायीरुपमा बसोबास गर्न चाहनेहरुको प्रक्रिया कमसेकम ६० दिन प्रभावित हुने छन् ।

अमेरिकामा आप्रवासीलाई प्रतिवन्ध लगाउने ट्रम्पको तयारी, डिभी भिषा समेत प्रभावित हुने

आप्रवासीहरुप्रति सदा झै कडा रुपमा प्रस्तुत भएका ट्रम्पले अमेरिकन नागरिकको रोजगारी आप्रवासीले खोस्ने भएकोले यस्तो निर्णय लिएका बताए ।

‘हामीले अहिले बेरोजगार भएका अमेरिकी नागरिकहरुको रोजगारी सुरक्षाको लागि यो निर्णय लिएका हौं’ उनले भने ‘सबै अमेरिकी नागरिकले रोजगारी पाएको र अवस्था सामान्य भएको सुनिश्चितापछि म र मेरो टिमले निर्णय गरेर यो प्रतिबन्ध फुकाउने छौं ।’

ट्रम्पले बुधबार यो विषयमा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् । उनले यो विषयमा छलफल भइरहेको र बुधबार कुनै समय निचोडमा पुग्ने बताए ।

केन्द्रीय सरकारका केही विभागले यहाँको बेरोजगारीदर हालसम्मकै उच्च रहेको प्रतिवेदन ट्रम्पलाई दिएपछि ट्रम्पले नयाँ आप्रवासी रोक्ने निर्णयमा पुगेका हुन् । यस अगाडि नै अमेरिकाले धेरै देशहरुमा यात्रासम्बन्धि प्रतिबन्धहरु लगाएको छ भने गत हप्तादेखि नयाँ भिषा दिने कार्य समेत बन्द गरिसकेको बुझिएको छ ।

ट्रम्पको उक्त निर्णयपछि डिभी परेर अमेरिका आउने पर्खाइमा रहेका नेपालीहरु समेत प्रभावित हुने भएका छन् । यो बाहेक आगामी महिना २०२१ को लागि डिभीको नतिजा पनि प्रकाशित हुँदै छ । नयाँ डिभी विजेताहरुको हकमा समेत ट्रम्पको निर्णयले अन्यौलता पैदा गराएको छ । यही अवस्था रहेमा नयाँ भिषा तत्काल प्राप्त हुने संभावना नदेखिएको जानकारहरु बताउँछन् ।

कोरोना भाइरसको कारण गत मार्च महिनामा मात्रै ७० लाख भन्दा बढी अमेरिकन बेरोजगार भएका थिए । तथ्यांक अनुसार अहिले अमेरिकाको बेरोजगारी दर इतिहाँसकै सबैभन्दा धेरै छ ।

भाइरसको कारण ९० प्रतिशत भन्दा बढी अमेरिकन नागरिक लकडाउन अर्थात्  ‘स्टे एट होम’ आदेशमा छन् । यहाँको धेरैजसो व्यवसाय बन्द छन् भने अत्यावश्यक सेवाका केही व्यवसाय मात्रै सञ्चालन भइरहेका छन् ।

२० वटा राज्यको निष्कर्षः तत्काल लकडाउन खोल्न तयार

यसैबीच यहाँका २० वटा राज्यले तत्काल लकडाउन खुल्ला गर्न र जनजिवन सामान्य बनाउन राष्ट्रपतिलाई ‘ग्रिन सिंगल’ दिएका छन् । उक्त २० राज्यमा अमेरिकाको कुल जनसंख्याको ४० प्रतिशत जनसंख्याको बसोबास रहेको राष्ट्रपति ट्रम्पले बताए ।

उनले कुन कुन राज्य तत्काल खुल्ला गर्न तयार रहेको भन्ने जानकारी नदिएपनि तत्काल जनजीवन सामान्य बनाउन यि राज्यहरु तयार रहेको बताए ।

‘हाम्रो निर्देशन अनुसार २० राज्यले केही दिनमै जनजिवन सामान्य बनाउने संकेत दिएका छन्,’ ट्रम्पले मंगलबार भने ।


पुष्प दुलाल