अमेरिकामा आप्रवासीलाई प्रतिवन्ध लगाउने ट्रम्पको तयारी, डिभी भिषा समेत प्रभावित हुने



बाल्टिमोर । अमेरिकाले आफ्नो देशमा ल्याउँदै आएका आप्रवासीहरुलाई अस्थायीरुपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अमेरिकामा थप आर्थिक तथा रोजगारीको भार कम गर्नको लागि विभिन्न आप्रवासी भिषामा आउनेहरुलाई रोक्ने ह्वाईट हाउसको योजना छ ।

यदि उक्त निर्णय लागू भए अमेरिकामा डिभी लगायतका भिषामा आएर स्थायीरुपमा बसोबास गर्न चाहनेहरु प्रभावित हुनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ बताए अनुसार कोरोना भाइरसको कारण परेको प्रभावबाट अर्थतन्त्रलाई जोगाउन उनले चाँडै नै आप्रवासी आवागमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने छन् ।

उक्त आदेशमा के उल्लेख छ भन्ने विषयमा उनले थप खुलाएका छ्रैनन् । ट्रम्पले कोरोना भाइरसका कारण स्थास्थ्य क्षेत्र र अर्थतन्त्रमा देखिएको समस्याको कारण उक्त निर्णय गर्न लागेको बताएका छन् ।

‘यस्तो अदृष्य शत्रुसँगको लडाईं र अमेरिकन नागरिकलाई यहाँको रोजगारी सुरक्षाको लागि केही समयमै एक कार्यकारी आदेशमा हस्ताक्षर गर्न गईरहेको छु, जसले अमेरिकाले लिँदै आएको आप्रवासीहरुलाई अस्थायी रुपमा लिन बन्द गर्ने छ,’ ट्रम्पले सोमबार ट्वीट गर्दै भनेका छन् ।

ट्रम्पले कुन अधिकारको प्रयोग गरेर आप्रवासीलाई प्रतिबन्ध लगाउँछन् भन्ने प्रष्ट छैन । त्यस्तै कति समयको लागि प्रतिबन्ध लगाइने र पहिल्यै स्थायी बसोबास प्रमाण पत्र (ग्रिन कार्ड) लिएका व्यक्तिहरुलाई सीमामा कसरी प्रवेश गराउने भन्ने विषयमा स्पष्ट पारिएको छैन ।

सीएनएनले दिएको जानकारी अनुसार ह्वाइट हाउसले यसको विषयमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ । त्यस्तै यहाँको होमल्याण्ड सेक्यूरिटीले पनि जवाफ दिएको छैन । कोरोना भाइरसको विश्वव्यापी प्रकोपको कारण अमेरिकाले आप्रवासीहरुलाई दिँदै आएको भिषामा उच्च गिरावट आएको छ ।

त्यस्तै शरणार्थी पुस्र्थापना कार्यक्रम पनि रोकिएको छ । धेरै क्षेत्रको कन्सुलर तथा भिषा प्रदान गर्ने कार्यालयहरु बन्द गरिएका छन् । ट्रम्पले यस विषयमा सोमबार विस्तृतमा केही जानकारी दिएका छैनन् । यद्यपि उनले ट्वीटरमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको भने उल्लेख गरेका छन् ।

आप्रवासी अधिकारवादी संस्थाहरुले भने ट्रम्पका उक्त निर्णयको तुरुन्त प्रतिक्रिया दिएका छन् । उनीहरुले यो अमेरिकाको नीतिको विषय नभएर राष्ट्रपतिको व्यक्तिगत विचार भएको बताएका छन् ।

राष्ट्रिय आप्रवासी मन्चका कार्यकारी निर्देशक अली नोरनीले भने ‘आप्रवासीले यो दुखद समयमा गरेको सहयोग र उद्दारको लागि ट्रम्पले गरेको नरअन्दाज हो यो ।’

अमेरिकालाई कसरी पुन सुचारु गर्ने भन्ने बहस चलिरहेको बेलामा ट्रम्पको यस्तो निर्णय आउनुले यो २०१६ मै ट्रम्पले राष्ट्रपतिको चुनावताका अमेरिकामा आप्रवासी आउन कम गर्ने भन्ने भनाईको निरन्तरताको रुपमा हेरिएको छ ।

ट्रम्पले ‘अमेरिका पहिले’ नारा दिएर आप्रवासीहरुको विषयमा कडा रुपमा प्रस्तुत हुँदै आइरहेका छन् । यस अगाडि नै उनले आप्रवासीको विषयमा लिएका धेरै निर्णयहरु विवादमा तानिँदै आइरहेका छन् । यदि उनले भनेको यो अध्यादेश आईहाले पनि यहाँको अदालतले अगाडि बढाउन नदिने संभावना भने उच्च छ । यसअघि पनि ट्रम्पको यस्ता कयन आदेशलाई यहाँका अदालतले निस्कृय पारिदिएका थिए ।

ट्रम्पले युरोप र चीनलाई लगाईएको यात्रा प्रतिबन्धले आफूले कोरोना भाइरसको स्रक्रमण रोक्न बेलैमा ठूलो भूमिका खेलेको बताउँदै आएका छन् ।

यही आपतकालको मौका पारेर ट्रम्प प्रशासनले भने आप्रवासीको विषयमा केही विवादित नीतिहरुलाई अगाडि बढाउन चाहेको छ । जसमा असाईलम खोज्नेहरुको आगमन रोक्ने लगायतका रहेका छन् ।

डिभीको नतिजा समयमै

यसैबीच ट्रम्पको आप्रवासी रोक्ने तयारी र कोरोना भाइरसको प्रकोपकाबीच अमेरिका स्थायी बसोबासको लागि सरकारले प्रदान गर्ने डिभी चिठ्ठाको नजिता भने समयमै अर्थात् आगामी मे पहिलो हप्ता नै सार्वजनिक हुने भएको छ । यसअघि नै डिभीमार्फत भिषा प्राप्त गरे कोरोनाको कारण अमेरिका जान समस्या भएकाहरुलाई प्रवेश दिने बताएको यहाँको स्टेट डिपार्टमेन्टले डिभीको नतिजा आउन ढिलो नहुने बताएको हो ।

डिपार्टमेन्टले सन् २०२१ को लागि डिभी भरेकाहरुले मे ५ तारिख पूर्विय समयअनुसार विहान १२ बजेपछि आफ्नो नतिजा हेर्न सक्ने बताएको छ ।

डिभी २०२१को लागि गत अक्टोवरदेखि नोभेम्बरमा आवेदन खुल्ला गरिएको थियो । २०२१ को लागि भिषा प्राप्त व्यक्तिले सेप्टेम्बर ३०,२०२१ सम्ममा अमेरिका प्रवेश गरिसक्नुपर्ने छ ।


पुष्प दुलाल