बैदेशिक रोजगारमा जाने बढेपनि रेमिट्यान्स वृद्धिदर २१.६ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह वृद्धिदर २१. ६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशमा काम गर्ने नेपालीले पठाउने रकम रेमिट्यान्स घटेको हो ।

सार्वजनिक तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई रु.६७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो ।


पुष्प दुलाल