आरबीआईले ल्यायो दोस्रो भारु ५० हजार करोडको दोस्रो राहत प्याकेज, नेपालमा कहिले ?



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारण विश्वको अर्थतन्त्रमा निकै असर परिरहेको छ । यही सेरोफोरोमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ५० हजार करोडको आर्थिक प्याकेजको घोषणा गरेको छ ।

कोरोनाका कारण भारतको आर्थव्यवस्थामा देखिएको समस्या समाधान गर्नको लागि यो राहतको घोषणा गरेको आरबीआईले जनाएको छ । आरबीआईले यसअघि पनि राहत प्याकेज ल्याएको थियो ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले शुक्रबार बिहान उक्त राहतको घोषणा गरेका हुन् । उनले उक्त राहत घोषणाको क्रममा ५० हजार करोड रुपैयाँ बजारमा लगानी गरिने बताए ।

अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले जस्तोसुकै कदम चाल्छ, ऋण मिनाह हुँदैन, बिग मर्जर हुन्छ: गभर्नर

गभर्नर दासकाअनुसार कृषि र ग्रामीण विकासका लागि २५ हजार करोड, साना उद्योग विकास बैंकलाई १५ हजार करोड र राष्ट्रिय आवास बैंकलाई १० हजार करोड विनियोजन गरिएको जनाएको छ ।

गभर्नर दासलेका अनुसार कोरोनाका कारण सारा विश्व ठूलो आर्थिक मन्दीको दिशामा अग्रसर भइरहेको छ । तर भारतको अवस्था त्यति खराब भने छैन ।

कोरोनाका कारण ९।९ ट्रिलियन डलरको नोक्सान हुने र त्यो जापान र जर्मनीको संयुक्त जीडीपी भन्दा बढी भएको उनको तर्क छ । यो मन्दी १९२९ को ग्रेट डिप्रेशन भन्दा ठूलो आर्थिक मन्दी हुने गभर्नरको तर्क छ ।

उनले भने ‘भारतको अवस्था मार्चदेखि नै खराब भएको छ तर यसको बाबजुद भारतीय अर्थतन्त्र बृद्धि भइरहेको छ ।’

सम्पूर्ण विश्वमा नै आर्थिक मन्दी भइरहेको समयमा भारतीय अर्थतन्त्र १।९ प्रतिशतका दरले वृद्धि हुने उनको तर्क छ ।

गर्भनर दासका अनुसार भारतीय अर्थतन्त्र जी २० देशहरूमध्ये सबै भन्दा राम्रो अवस्थामा समेत रहेको छ ।

केन्द्रीय बैंकले रिभर्स रिपोको दरमा २५ अंकले घटाएको छ । जसले बजारमा बढी पैसा ल्याउँने र रिभर्स रिपो दर ४ प्रतिशतबाट ०।२५ अंकले घटाएर ३।७५ प्रतिशत कायम गर्ने जनाएको छ । तर अहिलेसम्म रिपोमा कुनै परिवर्तन आइसकेको छैन ।

उनका अनुसार अहिले भारतमा बैंकिङ क्षेत्रले निर्वाध रुपमा काम गरिरहेको छ भने ९१ प्रतिशत बैंकका एटिएम पनि चालु रहेका छन् । गभर्नरका अनुसार अहिले भारतमा नगदको कतैपनि अभाव हुन दिइएको छैन ।

गभर्नर दासका अनुसार परिस्थिति हेरेर आगमी दिनमा यस्ता राहतको प्याकेजलाई ल्याइने छ ।

नेपाल राष्ट बैंकले पनि ३ साताअघि पहिलो चरणको आर्थिक प्याकेज ल्याइसकेको छ । र, नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले बैशाख महिनाभित्रै दोस्रो चरणको प्याकेज ल्याउने तयारी भइरहेको जनाएका छन् ।


पुष्प दुलाल