बैंकबाट २० अर्ब ऋण लिएर एनसेलले तिर्यो पूँजीगत लाभकर



काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले बैंकबाट ऋण लिएर सरकारलाई तिनुपर्ने लाभकर तिरेको छ । आर्थिक वर्षको अन्तिम दिन एनसेलले सरकारलाई १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएको छ ।

एनसेलको स्वामित्व परिवर्तन भएपछि लाभकर कसले तिर्ने भन्ने विवाद थियो । एनसेलले अन्तिम किस्ता वापत १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएर सरकारी दायित्व पुरा गरेको हो ।
एनसेलले सुरुमा लाभकर तिनुनपर्ने तर्क गरेको थियो । सर्बोच्च अदालतले एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्यो । तर,ठूला करदाता कार्यालयले निर्धारण गरेको लाभकरमा एनसेलले चित्त बुझाएन ।

पुन,मद्दा सर्बोच्च अदालतमा पुग्यो । सर्बोच्च ठूला करदाता कार्यालयको निर्धारण गरे अनुसारभन्दा कम लाभकर तिर्नुपर्ने फैसला गर्यो । सो अनुसार एनसेलले लाभकर बुझाएको हो ।

एनसेलले लाभकर तिर्नको लागि बैंकहरुबाट २० अर्ब रुपैयाँ ऋण लिएको छ ।

एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा बैंकहरुबाट ऋण पाएको हो । एनसेललाई नेपाल इन्भेष्टमेन्ट बैंक,नबिल र ग्लोबल आइएमई बैंकले ४ अर्ब रुपैयाँ ऋण दिएका छन् । नेपाल बैंकबाट एनसेलले ३ अर्ब रुपैयाँ ऋण लिएको छ । हिमालयन बैंकबाट २ अर्ब ५० करोड ऋण लिएको छ । सानिमा बैंकबाट ५० करोड रुपैयाँ ऋण लिएको छ ।

लकडाउनको कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा स्रोतको दवावमा रहेको सरकारलाई एनसेलबाट उठेको राजस्वले भने राहत दिएको छ । एनसेलले कोरोना भाइरस नियन्त्रणका लागि सरकारी कोषमा १० करोड रुपैयाँ दिएको छ ।

एनसेल खरिदबिक्रीमा लागेको लाभकर तिरेसँगै नेपालको कम्पनी किनबेचमा सरकारले अहिलेसम्मकै ठूलो रकम राजस्व प्राप्त गरेको छ ।


क्लिकमान्डु