सुलभ अग्रवालले गर्दा व्यवसायीको सुविधा खोसियो, निलो नम्बर प्लेटको गाडीमा हिड्न नपाउने



काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुपका सुलभ अग्रवालले कोरोना भाइरसको संकटको समयमा कालोबजारी गर्दा पक्राउ परेपछि सरकारले अवैतानिक महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको गाडीमा हिड्न रोक लगाएको छ ।

व्यवसायी अग्रवाल किग्रिस्थानका लागि अवैतानिक महावाणिज्य दूत हुन् । उनी महावाणिज्य दूतको हैसियतले प्रयोग गर्न पाउने निलो नम्बर प्लेटको गाडी लिएर नै महंगो मूल्यमा स्वास्थ्य उपकरण कालोबजारीमा बेच्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको गाडीमा सम्बन्धित देशको झण्डा हल्लाएर हिड्ने छुट थियो । बुधबार राती परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नहुँदासम्मको लागि अवैतानिक महावाणिज्य दूतहरुले निलो नम्बर प्लेटको गाडीमा हिड्न नपाउने र उनीहरुले पाउने सुविधा नपाउने जनाएको हो ।

नेपालमा तीन दर्जनभन्दा बढी व्यवसायीहरु विभिन्न देशका अवैतानिक महावाणिज्य दूत छन् । केही व्यवसायीले महावाणिज्य दूतको रुपमा आर्थिक कुटनीतिलाई बढाउन काम गरेपनि धेरैजसो व्यवसायीले निलो नम्बर प्लेटको गाडीमा झण्डा हल्लाउदै हिड्नको लागि महावाणिज्य दूत बनेका छन् । साना र नेपालसँग द्धिपक्षिय व्यापार लगानीको विषयमा सम्बन्ध नभएका देशहरुका पनि नेपालका व्यवसायीहरु महावाणिज्य दूत रहेका छन् ।

सरकारले औपचारिक रुपमा महावाणिज्य दूतको रुपमा सहभागी हुने कार्यक्रमको लागि निलो नम्बर प्लेटको गाडीमा झण्डा हल्लाउदै हिड्ने सुविधा दिएको थियो । तर,महावाणिज्य दूतहरुले हरेकदिन नै आफ्नो व्यक्तिगत काममा निलो नम्बर प्लेटको गाडी प्रयोग गर्ने गरेका थिए । उनीहरुले विमानस्थलमा पनि विशिष्ट कक्ष प्रयोग गर्न पाउँने सुविधा छ ।

महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको गाडी चढ्न दिने सुविधा सहाना प्रधान परराष्ट्रमन्त्री भएपछि भएको हो । त्यही शानको कारण नेपालसँग सम्बन्ध नभएका देशहरुको महावाणिज्य दूत बन्ने व्यवसायीहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।


क्लिकमान्डु