स्रोत जुटाउन ऋणको सहारामा सरकार: १ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने, यो हप्ता ५५ अर्ब



काठमाडौं । कोरोना भाइरस(कोभिड १९)को कारण स्रोत व्यवस्थापनमा कठिनाई भएपछि सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

अर्थमन्त्रालयले राष्ट्र बैंकलाई परिपत्र गरेपछि आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक भएको छ ।

जस अनुसार चैत महिनामा मात्र ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ । सरकारले बाँकी रकम भने चौथो त्रैमास अर्थात बैशाख देखि असार मसान्तसम्ममा १ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।

सरकारको खर्च नभएको कारण बजेटमा निर्धारण गरिएको लक्ष्य अनुसारको आन्तरिक ऋण गतवर्ष समेत उठाएको थिएन । खर्च गर्न नसकेको कारण आन्तरिक ऋण नउठाएको विषयलाई समेत ओली सरकारले आफ्नो सफलताको रुपमा प्रस्तुत गरेको थियो ।

राष्ट्र बैंकले यो हप्ता उठाउन लागेको ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋणमा ट्रेजरी बिल्स मार्फत २५ अर्ब रुपैयाँ उठाउने छ । यस्तै विकास ऋणपत्र मार्फत ३० अर्ब रुपैयाँ र बैदेशिक रोजगार बचतपत्र मार्फत ४० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

जसमा १८२ दिने ट्रेजरी बिल्सको २० अर्ब र एकवर्षेबाट ५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

यसरी उठाउने आन्तरिक ऋणमा बैदेशिक रोजगार बचतपत्रको ब्याजदर १० प्रतिशत राखिएको छ भने ट्रेजरी बिल्स र विकास ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने छ ।

राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक निलम तिमिल्सिना सरकारले गरेको परिपत्र अनुसार आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गरेको बताइन् ।

‘राष्ट्र बैंकले केही दिन अगाडि बैंक तथा वित्तीय संस्थाको सीआरआरमा सहुलियत दिएको हुँदा तरलतामा ५५ अर्ब रुपैयाँ उठाउदा पनि चाप पर्दैन,’उनले क्लिकमाण्डूसँग भनिन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेको थियो । कोरोना भाइरसको कारण राजस्व नउठेपछि सरकारले बजेटमा उल्लेख गरे अनुसारको सबै आन्तरिक ऋण उठाउने भएको हो ।

राष्ट्र बैंकले चौथो त्रैमासमा उठाउने निर्धारण गरेको १ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋणमा ६५ अर्ब रुपैयाँ ट्रेजरी बिल्सबाट उठाउने छ । ७० अर्ब विकास ऋणपत्र हुने छ । यस्तै ४ अर्ब रुपैयाँ नागरिक बचतपत्र र ४० करोड रुपैयाँ बैदेशिक रोजगार बचतपत्र हुने छ ।

सरकारले बैदेशिक रोजगार बचतपत्र भने हरेक त्रैमासमा उठाउन मिल्ने बनाएको छ । सो अनुसार अहिलेसम्म राष्ट्र बैदेशिक रोजगार बचतपत्र जारी गरेको थियो । तर,निष्कासन गरिए अनुसारको बैदेशिक रोजगार बचतपत्र भने बिक्री हुँदैन ।

कोरोनाको कारण आर्थिक क्रियाकलाप ठप्प भएसँगै ऋणको अनुपात बढ्ने भएको छ । अर्थमन्त्रालयका अनुसार माघ मसान्तसम्ममा नेपालले तिनुपर्ने ऋण रकम ११ खर्ब १४ अर्ब छ । जसमा आन्तरिक तर्फ ४ खर्ब ५१ अर्ब रुपैयाँ र बैदेशिक ऋण ६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु