माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या



काठमाडौं । सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायतका कारणले जटिलता उत्पन्न भएको पाइएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठुला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो ।

निर्माणाधिन आयोजनाले काम जारी राख्ने प्रयत्न गरेपनि निर्माण सामग्री, मजदुरलाई मानसिक रुपमा तयार नपार्दासम्म काम गर्न अझै समस्या रहेको जनाएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण जारी राख्न हरसम्भव प्रयास गरिरहेको छ । लकडाउनको समयमा काम गर्न अप्ठ्यारो भएपनि आफूहरुले निर्माण जारी नै राखेपनि केही अत्यावश्यक सामग्रीको आयात समेत सहज नहुँदा जटिलता पैदा भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेकाअनुसार काम जारी राख्न हरसम्भव प्रयास भइरहेको छ ,तर निर्माण सामग्रीको आयातमा देखिएको असहजताका कारण केही समस्या देखिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । कोरोना सक्रमणको त्रास पछि पछिल्ला केही दिनमा आयोजनाको काममा समस्या पैदा भएको छ ।

सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिइ भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने चैत २० गतेको निर्णयमा समावेश थियो ।

सोही निर्णयका आधारमा माथिल्लो तामाकोशीको काम जारी भएपनि अपेक्षाअनुसार काम गर्न भने लकडाउनका कारण समस्या देखिएको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको यही चैत ३ गतेदेखि परीक्षण गरिएको थियो । परीक्षण सफल भएको छ । त्यसको समग्र पक्षको मूल्याकंन भने जारी नै छ ।

स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको भएपनि कोरोना कहरमा परेको छ । आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो ।

तर, कूल ६८३ मिटर लामो दुई वटा ठाडो सुरुङ मध्ये कोरोना कहर देखिनु अघिसम्म कूल ४६३ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ ।
उहाँका अनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १७५ मिटर पाइप जडान भएको छ । त्यसमा अब १३५ मिटर पाइप जडान गर्न बाँकी छ ।

यस्तै कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङ मध्ये कूल २९० मिटरमा पाइप जडान भएको छ । सो सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । समग्रमा हेर्दा दुवै सुरुङको २२० मिटर पाइप जडान कार्य बाँकी छ ।
निर्माण व्यवसायी र कामदारलाई विश्वासमा लिएर पाइप जडानको कार्य जारी राख्ने प्रयासमा आयोजना रहेको छ । आयोजनाको केही सामान नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको भएपनि लकडाउनका कारण आयोजना स्थलमा पु¥याउन समस्या पैदा भएको छ ।

“बाटो सहज नभएका कारण ती सामान आयातमा जटिला देखिएको छ । कुनै उपाय लगाएर भएपनि सामान ल्याउने प्रयत्न भने जारी छ” प्रवक्ता न्यौपानेले भने ।
आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य सम्पन्न हुनै लागेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिएका थिए । कोरोनाको त्रासका कारण सो समयभित्र काम सम्पन्न हुने वा नहुने भन्नेमा भने आयोजनाले तत्कालै केही भन्ने अवस्था छैन ।

आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ ।
आयोजनाका अनुसार माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गर्नुभएको थियो । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ ।

विशेषगरी आयोजनाको लट–२ को ठकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ९लट–२० ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ पुस २३ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरेका थिए ।

केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइसचिव दिनेशकुमार घिसिङ, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कोलकातास्थित टेक्स्म्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटेर निर्माणमा तीव्रता दिन आग्रह गरेको थियो ।

आयोजनाको सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम सम्पन्न हुने चरणमा छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत्गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ ।

रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सवस्टेशनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । रासस


पुष्प दुलाल