चार देशले चार्टर्ड उडान गरी नेपालबाट नागरिक लैजाँदै   



काठमाडौँ । नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् ।

लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् ।

पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म १५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।

यसैबीच आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् ।

उनीहरुलाई लिन दुवै जहाज काठमाडौँ आइसकेका छन् । त्यस्तै मलेशियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

कतार एयरवेजको जहाज केहीबेरमा दोहा हुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेशियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेशिया एयरलाइन्सबाट फिर्ता लैजानेछ ।

नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ ।


क्लिकमान्डु