भाटभाटेनीको होम डेलिभरी सर्भिसमा अर्डरको ओइरो, सामान पुर्याउन भ्याइनभ्याइ



काठमाडौं । शुक्रबारदेखि लक डाउनमा पनि भाटभाटेनी सुपरमार्केटले होम डेलिभरी सर्भिस शुरु गरेको छ । यस्तो सेवा शुरु गरेकै दिन अर्डरको ओइरो लागेको भाटभाटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

सरकारबाट अनुमति लिएर हामीले लक डाउनमा पनि शुक्रबारदेखि होम डेलिभरी सर्भिस शुरु गरेका छौं, अध्यक्ष गुरुङले क्लिकमाण्डूसँग भने, अर्डरको आइरो लागेको छ, सामान पुर्याउन भ्याइनभ्याइ छ ।

दैनिक उपभोग्य वस्तु चाहियो ? तपाईको घरमै ल्याइदिन्छ भाटभाटेनीले, यी नम्बरमा फोन गर्नुस्

होम डेलिभरी शुरु गरेको पहिलो दिन दिउँसो ३ बजेसम्ममा ७ हजारभन्दा बढी अर्डर आइसकेको उनले जानकारी दिए । तर, आफूहरुले दिनभरमा २५ सयदेखि ३ हजार अर्डरको डेलिभरी गर्नेगरी काम गरिरहेको उनले सुनाए ।

‘५० वटा गाडीमा सामान डेलिभरी गरिरहेका छौं, तैपनि अर्डर गरेजति सबैलाई आज सेवा दिनसक्ने अवस्था छैन, जसले पहिला अर्डर गर्छ, उसैलाई पहिलो सर्भिस दिन्छौ,’ उनले भने, ‘आज अर्डर गरेकाहरुलाई भोलिसाँससम्ममा डेलिभरी दिन सक्छौं ।’

लक डाउनका कारण सर्वसाधारणहरु खाद्यान्न तथा अन्य वस्तु किन्नका लागि घर बाहिर निस्कनसक्ने अवस्था छैन । यस्तो अवस्थामा भाटभटेनीले होम डेलिभरी सर्भिस शुरु गरेपछि अत्याधिक अर्डर भएको हो ।

लक डाउनमा अनलाइन अर्डरको शुरुवात बैंकर अनिल शाहका घरदेखि शुरु गरेको उनले बताए । बिहीबार दिउँसो करोडौं पर्ने मर्सिडिज गाडीमा सामान हालेर गुरुङ आफैंले अनिल शाहको घरमा डेलिभरी गरेका थिए ।

‘अनिलजीले मलाई नै फोन गरेर सामान अर्डर गर्नुभयो, ग्राहकको सेवा गर्नु हाम्रो धर्म हो भन्ने ठानेर मैले आफ्नै गाडीमा सामान हालेर उहाँको घरमा पुर्याइदिएँ’, गुरुङले भने ।

नविल बैंकका सीइओ शाहले बिहीकार दिउँसो सामाजिक सञ्जालमार्फत आफुले आवश्यक सामान अर्डर गरेको केही समयमा नै भाटभाटेनीले घरमै सामान ल्याइदिएको भन्दै भिडियो पोस्ट गरेका छन् ।

उनको घरमा विशेष सुरक्षा अपनाएर सामान पुर्याईदिएको भिडियोमा देखिएको छ ।

भिडियोमा अनिल शाहले भनेका छन्, यतिबेला सबैजनाको चिन्ता छ, खाद्यान्न् दाल, चामल सबैचीज चाहिन्छ, कसरी ल्याउने भनेर । यस्तो समस्या परेको अवस्थामा होम डेलिभरी सर्भिस शुरु गरेकोमा धन्यबाद ।

शमहले भाटभाटेनीले आफ्नो उद्दार गरेको बताउँदै भाटभाटेनीको वेवसाइडमा गएर सामान अर्डर गरेपछि घरमै सामान आइपुग्ने बताएका छन् । भाटभाटेनीका अध्यक्ष गुरुङ मास्क र पञ्जा लगाएर शाहको घरमा पुगेको भिडियोमा देखिएको छ ।

भाटभटेनिले ९८०२०७५११८, ९८०२०७५११२, ९८०१२३३८६२, ९८०१२३३८६३ । ९८०१२४६६२८ मा सम्पर्क गरेर अनलाइ अर्डर गर्नसक्ने जनाएको छ ।


पुष्प दुलाल