कोरानो रोकथामका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई नगद र जिन्सी सहयोग गर्ने



काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई सहयोग उपलब्ध गराउने भएको छ । महासंघले आफ्ना सदस्यहरुलाई संकटको घडीमा राज्यलाई सहयोग गर्न अपिल गरेको छ ।

महासंघ अध्यक्ष भवानी राणाले बुधबार कार्यकारीणी सदस्यहरुलाई सरकारलाई सहयोग गर्नुपर्ने भन्दै म्यासेज पठाएकी थिइन् । यसरी उठाइएको नगद र जिन्सी महासंघको तर्फबाट संस्थागतरुपमा सरकारलाई हस्तान्तरण गरिनेछ ।

अहिलेको लागि सानै रकम उठाएर सहयोग गर्ने हो भने पनि त्यसले ठूलो सहयोग पुग्ने उनको विश्वास छ । यसरी संघटका बेला सहयोग गर्दा महासंघको उचाइ बढ्ने भएकाले सबै सदस्यहरुलाई सक्दो सहयोग गर्न आह्वान गरिन् ।

‘कोरोना नियन्त्रण कोषमा सहयोग गर्नका लागि मैले महासंघका कार्यकारीणी सदस्यहरुलाई म्यासेज पठाएकी थिएँ, सबैजनाले हुन्छ भन्नुभएको छ,’ अध्यक्ष राणाले भनिन्, ‘बरिष्ठ उापध्यक्ष शेखर गोल्छासँग पनि कुरा गरेँ, उहाँ अत्यन्तै सकरात्मक हुनुहुन्छ ।’

उनका अनुसार भोलि सम्ममा निर्णय हुन्छ । र, पर्सीसम्ममा सरकारलाई कोरोना रोकथामका सामाग्री र नगद उपलब्ध गराइने छ ।

‘अहिले पनि हामीले विभिन्न किसिमका सामानहरु गरेर १५ १६ लाख बराबरको सहयोग गरिसकेका छौं, जिल्लामा पनि सामानहरु पठाइरहेका छौं,’ राणाले भनिन्, ‘अब सामानहरु चाहीँ ४० ५० लाखको र ५० ६० लाख जति नगद सहयोग गर्ने योजना बनाएका छौं ।’

व्यवसायीहरु पनि समस्यामा परेकाले सहयोगका लागि दबाब दिन सक्ने अवस्था नरहेको उनले जानकारी दिइन् । महासंघसँग आवद्ध व्यक्तिहरुले व्यक्तिगतरुपमा र उहाँहरुको निजी संस्थाबाट पनि सहयोग गरिरहेको उनले बताइन् ।

‘चन्द्रजीले बैंकबाट १ करोड २५ लाख, अञ्जनजीले लक्ष्मी ग्रुपबाट १ करोड रुपैयाँ दिने घोषणा गरिसक्नु भएको छ,’ उनले भनिन् , ‘शेखरजीले पनि व्यक्तिगतरुपमा केही सहयोग गर्न खोजिरहेको मैले बुझेकी छु । त्यस्तै अरु साथीहरु पनि हुनुहुन्छ ।’

अहिलेको लागि सानै रकम उठाएर सहयोग गर्ने हो भने पनि त्यसले ठूलो सहयोग पुग्ने उनको विश्वास छ । यसरी संघटका बेला सहयोग गर्दा महासंघको उचाइ बढ्ने भएकाले सबै सदस्यहरुलाई सक्दो सहयोग गर्न आह्वान गरिन् ।


पुष्प दुलाल