कोरोनाको ‘इपिसेन्टर’ चीनबाट इटाली सर्यो, कोरियाले अपनाएको त्यो रणनीति…



काठमाडौं । दुई महिनाअघि चीनमा पहिलो पटक देखिएको कोरोना भाइरस यतिबेला विश्वका प्रायः सबैदेशमा फैलिसकेको छ । शुरुमा चीनका लागि मात्रै टाउको दुखाइको विषय बनेको थियो भने अहिले त्यो समस्या संसारभरीका लागि देखिएको छ ।

चीनका छिमेकी मुलुहरु नेपाल र भारतमा लकडाउन छ भने विश्वका कुल २० प्रतिशत मानिसहरु यतिबेला लकडाउनमा बस्न बाध्य छन् । वर्षौपछि आएको यो महामारी मानव जातिका लागि निकै ठूलो चिन्ताको विषय बनेको छ ।

यसअघि शताब्दी पहिले युरोपमा र चीनमा देखिएका महारमारीले २० करोडभन्दा बढीको ज्यान लिएका थिए । तत्कालिन समयमा न त अहिलेको जस्तो विज्ञानको आधुनिक युग थियो न त अहिले जस्तो पहुँचको समय थियो ।

तै पनि त्यो बेलाको महामारीले समग्र युरोपलाई आक्रान्त पारेको थियो । इतिहासको सबैभन्दा आधुनिक आजको समयमा कोरोना भाइरसको जोखिम निकै ठूलो हुने देखिएको छ । र, यसको अन्त्य कहिले हुन्छ र कहिलेदेखि सामान्य हुन्छ भन्ने अनुमान गर्न पनि नसकिने अवस्था छ ।

परिवर्तित इपिसेन्टर

शुरुमा चीनको एउटा मात्रै प्रान्तमा इपिसेन्टर मानिएको थियो । तर अहिले त्यो प्रान्तमा मात्रै सीमित नभइ समग्र विश्वमा फैलिएको छ । र, जसको मार सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा हालसम्म कोरोनाबाट ७४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ७ हजार ५००भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यो मृत्युको आँकडा कोरोना भाइरसको उद्गमस्थल चीनको तुलनामा दुई गुणाभन्दा बढी हो । चीनमा हालसम्म ८१ हजार २८५ जनामा संक्रमण देखिए पनि जम्मा ३२८७ जनाको मृत्यु भएको छ ।

जसरी चीनले समयमा यसलाई गम्भीरतापूर्वक संयमता अपनाइ काम गर्यो त्यसले जति छिटो कोरोनाको संक्रमण विस्तार हुनबाट रोक्यो उसै गरी इटलीमा काम नगर्दा गम्भीर नहुँदा अहिले मुलुकमा संकटको अवस्था आएको छ ।

इटलीपछि सबैभन्दा बढी अमेरिकामा ६८ हजार ४७२ जना संक्रमित छन् । जहाँ १ हजारभन्दा बढी मानिस मरेका छन् भने स्पेनमा झण्डै ५० हजार जना संक्रमित हुँदा ३६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, इरानमा पनि २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विश्वको आँकडा हेर्ने हो भने कुल १९८ देशका ४ लाख ७१ हजारमा यो संक्रमण फैलिइसकेको छ भने हालसम्म २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

के गरिरहेको छ कोरियाले ?

नेपालमा अहिलेसम्म ७ सय जनाको नमूना परीक्षण गरिएको छ जसमा ३ जना मात्रै पोजिटिभ देखिएको छ । तर दक्षिण कोरियाको हकमा भने यो केही फरक छ । जब कोरोना संक्रमण देखिन थाल्यो संक्रमणको गती तीव्र थियो । तर त्यहाँको सरकारले सुझबुझका आधारमा स्वास्थ्य परीक्षणलाई तीव्र बनाउँदै दैनिक २० हजार नमूना परीक्षण गरिरहेको छ ।

यसका लागि त्यहाँको सरकारले सार्वजनिक र निजी ल्यावको नेटवर्क तयार पारी सबै खाले लक्षण देखिने वित्तिकै परीक्षण गर्न थाल्यो । सन् २०१५ मा मध्य पूर्वमा देखिएको रेस्पारेटोरी सिन्ड्रोमपछि दक्षिण कोरियाले ती ल्यावहरु बनाएको थियो ।

तत्कालीन समयमा मर्सले निम्त्याएको संकटबाट पार लगाउने तयार बनाएको संरचना, तयारी र रणनीतिलाई अहिले कोरोना भाइरससँग लड्नका लागि समेत सहयोगी बन्यो ।

सरकारले समयमै मानिसहरुलाई घरभित्रै बस्न भन्यो, आतपकालीन अवस्थामा बाहेक बाहिर ननिस्कन भन्यो जसले गर्दा चर्चमा हुने भीडभाड कम भयो भने नाइट क्लब, जीममा पनि मानिसहरुको संख्या कम भयो । यसले संक्रमण हुने गतीलाई कम गर्यो र धेरैलाई संक्रमण हुन पाएन ।

दक्षिण कोरियामा २० जनवरीमा पहिले केस भेटिएको पुष्टि भएको थियो । साथै दोस्रो केस धार्मिक समूहमा देखिएको थियो । जसले एकाएक संक्रमितको संख्या बढाएको थियो ।

सरकारले विमानस्थलमा मात्रै २० वटा टेलिफोन बुथ जस्तै लाग्ने स्क्रिनिङ सेन्टर निर्माण गरेको छ । जहाँ युरोपबाट आउनेहरुलाई परीक्षण गरिन्छ । त्यही बुथभित्र यात्रुको तापक्रमसँगै लक्षणहरु सुक्ष्मरुपले परीक्षण गरिन्छ र क्वारेन्टाइनमा पठाइन्छ । लक्षण देखिएमा आइसोलेसनमा राखिन्छ ।

त्यहाँको सरकारले तत्कालै सबै विद्यालय बन्द गर्यो भने सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा छिट्टै लागू पनि गर्यो । त्यहाँका डाक्टरहरुले तीन वटा चरण ट्रेस टेस्ट र ट्रिटमार्फत कोरोना विरुद्ध लड्नका लागि रणनीति निर्माण गरे ।

सरकारी संयन्त्र, त्यहाँका जनताको साथ र काम गर्ने रणनीतिका कारण अहिले त्यहाँको संक्रमित हुनेको संख्या दिनप्रतिदिन घट्दै गइरहेको छ भने कोरोना संक्रमणको रोकथामन र न्यूनिकरण गर्नका लागि सरकार सफल भएको देखिन्छ ।

जसरी चीनले संक्रमणको संख्यालाई ८० हजारको आसपासमा सीमित राख्दै कोरोना भाइरसविरुद्ध लड्दै जनतालाई सुरक्षित बाटोतर्फ लग्यो त्यसैगरी दक्षिण कोरियाले पनि कोरोना भाइरसका विरुद्ध अपनाएको रणनीति निकै प्रशंसायोग्य छ भन्न सकिन्छ ।


पुष्प दुलाल