अस्पतालले बिरामी रिफर गर्न नपाउने, त्यही आइसोलेसनमा राखेर परीक्षणका लागि नमूना पठाउन निर्देशन



काठमाडौं । सरकारले अब प्रत्येक अस्पताललाई छुट्टै ‘फिबर क्लिनक’ सञ्चालन गर्न निर्देशन दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विजय देवकोटाले अब अस्पतालले परीक्षणको दायर बढाउँदै छुट्टै फिबर क्लिनिक सञ्चालन गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म विदेशबाट आउनेमा खोकी र ज्वरो देखिएमा मात्रै परीक्षण गरिएकोमा त्यसको पनि दायरा बढाएर त्यससँगै ६० वर्षभन्दा माथि उमेर समूहका मानिस, स्वास्थ्यकर्मी, सुगर र प्रेसरका बिरामीमा समेत समस्या देखिए परीक्षण गर्न शुरु गरिएको जानकारी दिए ।

साथै अब बिरामी पुग्ने अस्पतालले बिरामीलाई रिफर गर्न पाउने छैनन् । साथै अस्पतालले अब बिरामीलाई अस्पतालमै आइसोलेसनमा राख्ने र नमूना परीक्षण मात्रै पठाउन निर्देशन दिइएको छ ।

प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा कल सेन्टरमा ५ हजार २३१ वटा फोन आएको जानकारी दिए ।

उनका अनुसार हालसम्म् टेकुस्थित अस्पतालमा एक जना संक्रमितको उपचार भइरहेको छ भने ५ जना आइसोलेसनमा र १० जना क्वारेन्टाइनमा छन् ।

साथै अस्पतालमा तत्कालका लागि ओपीडी बन्द गरिने र २ सातापछि उपचार गर्दा पनि हुने बिरामीहरुको उपचार पनि अहिलेका लागि स्थगित गर्ने उनले जानकारी दिए । साथै विस्तारित सेवा अहिलेका लागि बन्द गर्ने, फलोअपमा आउने विरामीलाई पनि अहिले नबोलाउने निर्णय भएको छ ।

साथै नियमित जाँच र शल्यक्रिया पनि बन्द गर्ने, होल बडी चेकअप बन्द गर्ने समेत निर्णय भएको छ ।


क्लिकमान्डु