मल व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा, अनलाइनबाटै आपूर्ति र वितरण अनुगमन गर्न सकिने


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरको मलको आपूर्ति, भण्डारण, वितरण र उपयोगलाई व्यवस्थित तथा पारदर्शी बनाउन रियल–टाइम फर्टिलाइजर म्यानेजमेन्ट इन्फरमेसन सिस्टम सञ्चालनमा ल्याएको छ ।

यो प्रणालीमार्फत मलसम्बन्धी सम्पूर्ण विवरण अनलाइन अभिलेख राखिने र सरोकारवाला निकायले प्रत्यक्ष अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार प्रणाली लागू भएसँगै मल आयातदेखि किसानसम्म पुग्ने सम्पूर्ण शृङ्खला डिजिटल रूपमा जोडिएको छ । आयात भएको मलको परिमाण, गोदाममा रहेको मौज्दात, जिल्लागत तथा स्थानीय तहसम्मको वितरण स्थिति, बिक्री दर र माग–आपूर्तिको अवस्था एकै प्लेटफर्मबाट हेर्न सकिने व्यवस्था गरेको छ ।

यसले मल अभाव, ढिलाइ, कालोबजारी तथा दोहोरो वितरणजस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार यो प्रणालीमार्फत संघ, प्रदेश र स्थानीय तहबीच सूचना आदान–प्रदान सहज हुने बताइएको छ । स्थानीय तह र सम्बन्धित निकायले आफू मातहतको क्षेत्रमा मलको वास्तविक अवस्था अद्यावधिक गर्नुपर्नेछ भने केन्द्रबाट नीति निर्माण र निर्णयका लागि आवश्यक तथ्यांक तत्काल उपलब्ध हुनेछ । मन्त्रालयले किसान, सहकारी, वितरक र सरकारी निकाय सबैलाई प्रणालीमा आबद्ध गराउँदै लगिने जनाएको छ ।

मन्त्रालयका अनुसार डिजिटल प्रणालीको प्रयोगले मल व्यवस्थापनमा सुशासन प्रवद्र्धन हुनुका साथै सेवा प्रवाह छरितो हुने अपेक्षा गरिएको छ ।

प्रणालीसम्बन्धी थप जानकारी लिनका लागि मन्त्रालयले एफएमएस डट एमओएउलडी डट जिओभी डट एनपी वा मन्त्रालयको सोझै अनलाइन पोर्टलमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

Skip This