वैदेशिक रोजगारीमा जान नपाउनेलाई स्वदेशमै रोजगारी दिने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान नपाएका श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन आग्रह गरेको छ ।

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि वैदेशिक श्रमका लागि अनुमति नदिइएको उल्लेख गर्दै त्यस्ता जनशक्तिलाई स्वदेशमै रोजगार दिने बताए ।

‘बैदेशिक रोजगारीमा जान नपाएका व्यक्तिहरु स्वदेशी रोजगारीमा आबद्ध हुन चाहनेलाई श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत उपलब्ध काममा अवसरमा सहभागी भएर काम गर्न आउन समेत आग्रह गर्दछौं,’ उनले भने ।

साथै, सार्वजनिक निर्माणमा रोजगारी प्रत्याभूति गरेको भन्दै त्यसमा सरकारले काम गने उनले बताए ।

‘त्यसमा म सानो काम गर्दिन, टेबल वर्क मात्रै काम गर्छु भन्ने स्थिती राखिदिनु भएन, यस सम्बन्धिको छलफल अलिक अगाडि बढीसकेको छ, त्यसैले रोजगारीका लागि आत्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने ।

मन्त्री खतिवडाले विप्रेषण कम हुँदा ठूलो असर नपर्ने समेत बताए ।

‘बैदेशिक रोजगारीमा रुकावट हुँदा विप्रेषणमा असर पर्ने कुरा पनि भएका छन् । त्यसमा हाम्रो विप्रेषणको वृद्धि लामो समयदेखि उच्च रहँदै आएको हो । अहिले अघिल्लो वर्षकै वरिपरी मात्रै छ । त्यसैले ठूलो वित्तीय समस्या पर्दैन्,’ उनले भने ।

विप्रेषण बैंकिङ प्रणालीमा आउँदा तरलतालाई सहयोग पुर्याउने हो । अहिलेको अवस्थामा बैंकिङ प्रणालीमा तरलताको समस्या छैन । बैंकिङ प्रणालीमा थप ६०/७० अर्ब जति थप लगानीयोग्य रकम छ, त्यसैले अहिले नै मुद्रा बजार र पुँजी बजारमा ठूलो कठोर अवस्था सिर्जना हुँदैन । विप्रेषण आफ्नै कोर्समा आउँदा तरलता फेरि बढ्ने मन्त्री खतिवडाको भनाइ छ ।


क्लिकमान्डु