कोरोना असरः सेयर कारोबार बन्द हुन्छ कि हुँदैन ?



काठमाडौं । विश्वभर फैलिएको कोरोनाका कारण नेपालको पुँजी बजारमा पनि असर देखिने भएको छ ।

कोरोनाबाट बच्नका लागि भन्दै सरकारले २५ जनाभन्दा बढी व्यक्ति समूहमा नबस्न निर्देशन दिएलगत्तै धितोपत्र दलाल व्यवसायीहरु कसरी कारोबार गर्ने भन्नेमा अन्योलनमा परेका छन् ।

सरकारले नै २५ जनाभन्दा बढी व्यक्ति समूहको नबस्नु भनेर सार्वजनिक नोटिस जारी गरे लगत्तै कसरी व्यवसाय चलाउने भन्नेमा धितोपत्र दलाल व्यवसायीहरु अन्योलमा परेका छन् ।

नेपाल स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष भरत रानाभाटले यो अवस्थामा उस्तै परे बजार बन्द गर्ने अवस्था आउन सक्ने बताउँछन् ।

सरकारले हिँजो (बुधबार) २५ जनाभन्दा बढी समूहमा नबस्नु भन्ने निर्देशन आएलगत्तै कसरी कारोबार गर्ने भनेर धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग छलफल गर्न लागेको उनले बताए ।

सरकारको निर्णय मान्दिन भन्न नमिल्ने भएकाले अब कसरी अघि बढने भनेर बिहीबार बैठक बस्ने तयारी रहेको उनको भनाइ छ । आज बोर्डमा बैठक बस्ने र के गर्ने भनेर निर्णय आउने अध्यक्ष रानाभाटको भनाइ छ ।

‘बोर्डले केही निर्णय नगरेको खण्डमा समस्या हुने छ । हामीले फलानो लगानीकर्ता आउनु, फलानो नआउनु भनेर भन्न मिल्दैन । लगानीकर्ताले अनलाइनबाट कारोबार गर्छु पनि भन्न सक्छन्, त्यसको लागि पनि क्लियरिङको काम गर्नको लागि ब्रोकरकोमा आउनै पछ,’ रानाभाटले क्लिकमाण्डूसँग भने ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सरकारले २५ जनाभन्दा बढी व्यक्ति सामूहिक रुपमा नबस्न भनेकाले ब्रोकरले पनि त्यो निर्णय मान्नुपर्ने र अनलाइनबाट सेयर कारोबार बढाउनुपर्ने बताए ।

अहिलेको अवस्थामा ब्रोकर कार्यालय बन्द गरिहाल्नु नपर्ने तर ब्रोकर कार्यालयमा चिया खान मात्रै जाने लगानीकर्ताहरु रोक्न आवश्यक रहेको उनको भनाइ छ ।

नेप्सेका एक अधिकारीका अनुसार सेयर बजार पनि लिक्विड मार्केट भएकाले बन्द नै गरिहाल्नु हुँदैन यसको विकल्पमा अनलाइन छ, यसैबाट कारोबार गर्न सकिन्छ ।

अनलाइनबाट कारोबार गर्दा पैसा भूक्तानीका लागि ब्रोकर नै पुग्न नपर्ने अनलाइनबाटै मिल्ने भएकाले त्यसको सदुपयोग गरे सेयर बजारमा तत्कालीन समस्या नदेखिने उनको भनाइ छ ।

‘एक महिनाको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइनबाट कारोबार भयो यो पर्याप्त होइन,’ ढुंगानाले भने, ‘अब सबै लगानीकर्ताले अनलाइनबाटै कारोबार गर्नुपर्छ, यसमा कुनै पनि समस्या छैन ।’

नेप्सेका अधिकारीका अनुसार यदाकदा सेयर बजार बन्द गर्नुपर्छ भन्ने हल्ला सुनिएको तर कुनै लगानीकर्ताले अदालतमा गएर सम्पत्ति बेचबिखन गर्न पाउने अधिकारबाट बञ्चित भइयो भनेर मुद्दा हालेमा के गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ ।

त्यसैले अहिले सेयर बजार पूर्णरुपमा बन्द गर्नुपर्छ भन्दा पनि अनलाइनबाट हुने कारोबार बढाउनुपर्छ ।


पुष्प दुलाल