गेम चेञ्जर भनिएका राष्ट्रिय गौरवका आयोजनाको काममा प्रगति भएन



काठमाडौं । गेम चेञ्जर भनिएका २३ वटा राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति हुन सकेको छैन ।

अधिकांश आयोजनामा दक्षजनशक्तिको अभाव देखिएको छ भने निर्माण सामग्री एवम् इन्धन ढुवानीमा समेत समस्या देखिँदा ती आयोजना लामो समयदेखि प्रभावित हुँदै आएका छन् ।

चालु आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका आयोजनामा १ खर्ब २ अर्ब ६५ करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका आयोजनामा १ खर्ब २ अर्ब ६५ करोड बजेट विनियोजन भएको छ । चालु आवको ६ महिनाको अवधिमा जम्मा १९ अर्ब २४ करोड अर्थात् १८.७ प्रतिशत मात्रै खर्च भएको छ । यसले पनि आयोजनाको प्रगति निकै सुस्त देखिएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा नै रहेका उत्तर दक्षिण (कोशी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णालि करिडोर) लोकमार्गको पनि प्रगति निकै सुस्त रहेको छ ।

उत्तर दक्षिण (कोशी करिडोर) लोकमार्गमा चालु आवको विनियोजित बजेटको १५.८, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्गको १६.१ प्रतिशत र उत्तर दक्षिण (कर्णाली करिडोर) लोकमार्गमा ५८.५ प्रतिशत बजेट खर्च भएको छ ।

सबै आयोजनामा फरक-फरक खालका समस्या देखिएका छन् । उत्तर दक्षिण (कोशी करिडोर)मा ट्रयाक खोल्ने क्रममा चेपुवा किमान्थांका खण्डमा रेखांकनको विवादले निर्माण कार्य अवरुद्ध हुनुका साथै पुल निर्माणमा इआईए स्वीकृतिको चरण अझै नसकिएको र मकालु वरुण राष्ट्रिय राष्ट्रिय निकुन्जद्वारा सडक तथा पुल निर्माणकार्यमा अवरोध भएको राष्ट्रिय योजना आयोगले जानकारी गराएको छ ।

आयोगका अनुरा २०७६ मा भएको निरन्तर वर्षाको कारणले बाढी पहिरो गई बाटो अवरुद्ध भएकाले निर्माण सामग्री ढुवानी तथा स्ट्रक्चरल निर्माण कार्यमा समस्या हुनुका साथै बिस्फोटन पदार्थको पनि अभाव भएको आयोगको भनाइ छ ।

यस्तै उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्गमा रुख कटानका लागि स्वीकृति नपाएको, राम्दी–दरपोक र मिर्मी–सेतिबेनी सडक खण्डमा धार्मिक तथा पर्यटकीयस्थल नजिक रहेकोले बिष्फोटक पदार्थ सहजरुपमा प्रयोग गर्न नमिलेकाले आयोजनाले गति लिन सकेको छैन ।

यस्तै माथिल्लो मुस्ताङ क्षेत्रमा अत्यधिक उचाई, अक्सिजनको कमी तथा हावाको वेगको कारणले ६ महिनाभन्दा बढी काम गर्न नसकिएको र कामदारको अभावको कारण काम गर्न समस्या भएको आयोगको तर्क छ ।

यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) लोकमार्गमा पनि निर्माण सामग्री तथा इन्धन ढुवानीको समस्या, अनुगमनमा कठिनाई, दरबन्दी अनुसार जनशक्ति पाउन नसक्नु, सडकको धेरै जसो रेखांकन गोरेटो तथा घोडेटो हुँदै जाने भएकाले निर्माण कार्यमा समस्या भएको आयोगको तर्क रहेको छ ।

उत्तर दक्षिण (कोशी करिडोर)ले दक्षिणमा भारतको सिमाना जोगवनीदेखि बसन्तपुर, खाँदबारी हुँदै नेपालको उत्तरी सिमाना किमाथांक (३९० किमी) जोडने सडक मार्ग हो । आयोजना आव २०६६/२०६६ मा शुरु भएको आयोजनाले तेह्रथुम जिल्लाको बसन्तपुरदेखि उत्तरी सिमाना किमाथांककासम्म १ सय ६२ किलोमिटर सडक निर्माण एंव स्तरोन्नती आव २०८०/८१ मा सकिने लक्ष्य रहेको छ ।

शुरुमा यसको लागत अनुमान ५ अर्ब १५ करोड भएपनि पछि यसलाई संशोधन गरेर १६ अर्ब २० करोड रुपैयाँ पुर्याइएको छ ।

अर्थमन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्ने क्रममा आयोजनाको १० किलोमिटर सडक चौडा गर्ने र २.७ किलोमिटर सडक ग्रावेल गर्ने काम सम्पन्न भएको जनाएको छ ।

चालु आव २०७६/०७७ मा आयोजनाका लागि ८४ करोड ८९ लाख विनियोजन भएकोमा १३ करोड ३९ लाख अर्थात् वार्षिक लक्ष्यको जम्मा १५.८ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

यस्तै, उत्तर दक्षिणं (कालीगण्डकी कोरिडोर) लोकमार्गले नवलपरासी जिल्लाको गैडाकोटलदेखि गुल्मीको रिडी, बाग्लुङको मालढुंगा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोमहुँदै उत्तरी सिमाना कोरला नाकासम्म सडक निर्माण एवम स्तरोन्नती गर्ने लक्ष्य लिएको छ ।

गैडाकोटदेखि कोरलासम्म यस करिडोरको लम्बाइ ४३५ किलोमिटर छ । आयोजनाको लागत २८ अर्ब ८० करोड रुपैयाँ छ । चालु आवमा २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन भएपनि समीक्षा अवधिमा ४५ करोड ९३ लाख अर्थात १६.१ प्रतिशत मात्रै खर्च भएको छ ।

हालसम्म बेनी जोमसोम कोरला खण्डको १८६ किलोमिटर ट्रयाक खोलिएको छ । मालढुंगा-राम्दी-गैडाकोट खण्डको २४५ किलोमिटर बाटो निर्माण कार्य भइरहेको छ । रिडि मालढुङगा सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

यसको ८० किलोमिटरमध्ये ३८ किलोमिटरको बल्ल ट्रयाक खोल्ने काम सकिएको छ । बेनी-जोमसोम-कोरला सडकको ५४ किलोमिटरमा ग्राभेल बिछ्याउने, मालढुंगा–राम्दी-गैडाकोट सडकको १ किलोमिटर सडक चौडा गर्ने र ११ किलोमिटरमा ग्राभेल हाल्ने, ५ वटा पुल बनाउने काम सकिएको अर्थमन्त्रालयले जानकारी गराएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको सडक खण्डमा ६.५ किलोमिटर ट्रयाक चौडा गर्ने काम सकिएको छ ।

यस्तै उत्तर दक्षिण (कर्णाली कारिडोर) लोकमार्ग खुलालु-सिमिकोट (हुम्ला) खण्डमा करिब १९६ किलोमिटर र हिल्सा–सिमिकोट खण्ड (हुम्ला) ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ ।

२०६५/६६ मा शुरु भएर २०७० मा सकिने अपेक्षा रहेपनि त्यसलाई ९ वर्ष थप गरेर २०७९/८० मा सक्ने अनुमान रहेको छ । आयोजनको लागत ४१० करोड रहेको छ । आयोजनको लागत ४ अर्ब १० करोड रहेको छ ।

आयोजनाको खुलालु-लैफु-सिमिकोट खण्डमा हालसम्म १०६ किलोमिटर ट्रयाक निर्माण सकिएको छ । यो आयोजना अन्तर्गत ४ वटा बेली ब्रिज पनि निर्माण सकिएको छ ।

जितेगडादेखि लेब्डेसम्मको ७६ किलोमिटर सडकमा सार्वजनिक सवारी साधान सञ्चालमा समेत आइसकेको छ । चालु आव २०७६/०७७ मा ७० करोड बिनियोजन भएकोमा ४० करोड ९७ लाख अर्थात ५८.५ प्रतिशत खर्च भएको छ ।


क्लिकमान्डु