सुरज बैद्य भन्छन्- मन्त्रालयको माथिल्लो तहमा निर्णय हुन्छ, तलकाले फनफनी घुमाइदिन्छन् (भिडियो)



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का संयोजकसमेत रहेका व्यवसायी सुरज बैद्यले नेपालमा काम गर्दा नीतिगतदेखि व्यवहारिक समस्याहरु झेल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

नेपालमा पर्यटन विकासको ठूलो संभावना भएपनि ती समस्याका कारण देश र पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए ।

‘नेपालको समस्या के छ भने कुनै मन्त्रालयभित्र माथिल्लो तहमा निर्णय हुन्छ तर तलका व्यक्तिहरुले त्यसलाई कसरी फिनफिनी घुमाउँछन्,’ बैद्यले भने, ‘एउटा मन्त्रालयले के गरिरहेको छ भन्ने कुरा अर्को मन्त्रालयलाई थाहा हुँदैन । यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ ।’

सस्टेनेवल समिट कन्फ्रेन्स २०२० मा बोल्दै बैद्यले नेपाल विकास र नीतिमा पछि परेको सुनाए ।

‘दिगो विकास गर्दै स्थानीय जनतालाई त्यसबाट कसरी फाइदा पुर्याउने भन्ने आजको महत्वपूर्ण विषय हो,’ उनले भने, ‘तर हामी विकास र नीतिमा हामी पछि परेका छौं ।’

नेपालमा रोजगारीको अवसर नभएपछि युवाहरु विदेश पलायन हुने गरेको उनले सुनाए । युवाहरुलाई विदेशमै रोक्न स्थानीय स्रोत र साधनको भरपूर उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले भर्खरै गोक्यो तालमा आइस हक्की खेलायौं, गोक्योजस्ता १३०० तालहरु छन्, तीमध्ये ५ प्रतिशत मात्रै नयाँ पर्यटकीय प्रोडक्ट थप गर्न सकेको खण्डमा ती ग्रामीण क्षेत्रमा बसेका जनताहरुको आर्थिक जीबनस्तर उक्सिने थियो,’ उनल भने ।

राष्ट्रिय निकुञ्जबाट स्थानीय जनताले फाइदा लिनसक्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

‘ड्रोन राष्ट्रिय निकुञ्जभित्र एउटा सानो ड्रोन लैजान लैजान १५०० डलर तिर्नुपर्छ किन ?’ उनले प्रश्न गरे ।

आज सबैको हातहातमा मोवाइल फोन भएको र आइफोन पनि १०००/११०० डलरमा आउने र फोनले धेरै राम्रो फोटो खिच्ने उनले बताए । तर ड्रोनको महत्व अर्कै भएको उनको भनाइ छ ।

एउटा ड्रोन लानलाई अनुमति लिन यति अफ्ठेरो छ भनेर आफूले पहिलो चोटी थाहा पाएको उनले जानकारी दिए ।

‘नागरिक उड्ययन प्राधिकरण, गृह मन्त्रालय, निकुञ्जमा जानुपर्ने, कति हो कति ? हामी नेपाललाई प्रोत्साहन गर्न चाहन्छौं भने यस्ता खालका नीति किन ? यसको अन्त्य कहिले हुन्छ ?’ बैद्यले प्रश्न गरे ।


पुष्प दुलाल