व्यवसायी चन्द्र ढकाललाई मौलाकालीकामा केबलकार बनाउन सरकारको अनुमति



काठमाडौं । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको मौलाकाली केवलकार बनाउनको लागि सरकारले अनुमति दिएको छ ।

मन्त्रीपरिषद्को बैठकले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको लागि सामुदायिक बन र मौलाकाली धार्मिक बन समेत गरेर कुल जम्मा २.८२ हेक्टर जग्गा प्रयोग गर्न दिने अनुमति दिएको हो ।

आइएमई समुहको लगानीमा मौलाकालीमा केवलकार निर्माण हुन लागेको हो । यो समुहको दोस्रो परियोजना हो । यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार संचालनमा आइसकेको छ ।

सरकारले बनक्षेत्र प्रयोग गर्न दिने निर्णय नगर्दा परियोजनाको काम पछिल्लो समय अन्यौलमा रहेको थियो ।

गत पुसमा आयोजना भएको गैडाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको कार्यक्रममा आइएमई समुहका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष रहेका चन्द्र ढकालले मौलाकालिकामा नमुना प्रोजेक्टको रुपमा केवलकार संचालनमा आउने बताएका थिए ।

गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गरेका थिए ।

यस्तै सरकारले रुपन्देही र पाल्पामा निर्माण हुन लागेको सिदार्थ केबलकार आयोजनाका तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १ स्थित राष्ट्रिय बन क्षेत्रको थप २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिने निर्णय गरेको छ ।


क्लिकमान्डु