गभर्नर डा. नेपाल बिदा नबस्ने, चैत ५ गतेसम्म काम गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल विदा नबस्ने भएका छन् । उनको कार्यकाल सकिन अब १ महिना मात्रै बाँकी छ ।

सामान्यतया एक महिना अघि बिदा बस्ने अभ्यास छ । बिदा बस्नैपर्छ भन्ने कुनै नियम भने छैन ।

कतिपय गनर्भरहरु बिदा बसेका र कतिपय नबसकेका उदाहारण छन् । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा पनि राष्ट्र बैंकको गभर्नर भइसकेका व्यक्ति हुन् ।

राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?

खतिवडाले पनि आफ्नो कार्यकालको अन्तिम दिनसम्म काम गरेका थिए ।

‘बिदा बस्नुपर्छ भन्ने छैन, म आगामी चैत ५ गतेसम्म काम गर्छु,’ गभर्नर डा. नेपालले क्लिकमाण्डूसँग भने, ‘अब नयाँ र दीर्घकालीन निर्णयहरु गर्दिन, तर केही अधुरा कामहरु पूरा गर्न बाँकी छन् ।’

गभर्नर डा. नेपालले केही दिनमै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि गर्ने भएका छन् । उनले आफ्नो कार्यकालमा बैंकहरुलाई बलियो बनाउनुका साथै समस्याग्रस्त संस्थाहरुको सही व्यवस्थापन पनि गरेका छन् ।

चुक्ता पुँजी ४ गुणाले बढाएका गभर्नरले बैंकहरुबीचको बिग मर्जरको पनि शुरुआत गरेका छन् ।

नयाँ गभर्नर बन्नका लागि उम्मेद्धारहरुको दौडधूप शुरु भइसकेको छ ।

अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, निवर्तमान अर्थसचिव राजन खनाल, लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी, राष्ट्र बैंकका सञ्चालक सुवोधलाल कर्ण, योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ लगायत गभर्नर बन्ने दौडधूपमा छन् ।


पुष्प दुलाल