राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?



काठमाडौं । राष्ट्र बैंकको नयाँ गभर्नर बन्न दौडधूप शुरु भएको छ । डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल आगामी चैत पहिलो साता सकिँदैछ । त्यसैले आगामी कार्यकालका लागि गभर्नर बन्न आकांक्षीहरुले दौडधूप शुरु गरिसकेका छन् ।

भित्रभित्रै लिगलिगे शैलीमा दौडधूप गरे पनि आकांक्षीहरु भने त्यसलाई स्वीकार्दैनन् । यद्यपि अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिझाउन आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रको प्रयोग भने गरिरहेका छन् ।

‘गभर्नरजस्तो गरिमामय पदका लागि सक्दो प्रयास त गर्नै पर्यो नि,’ एक आकांक्षीले क्लिकमाण्डूसँग भने ।

गभर्नर हुने चाहना राख्नेहरु आधा दर्जनभन्दा बढी व्यक्तिहरु सक्रिय रहेपनि अहिलेसम्मको अवस्था हेर्दा राष्ट्र बैंकका ३ क्याडरबीच बलियो प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको सरकार भएकाले कम्युनिष्ट निकट व्यक्ति गभर्नर हुने पक्का छ । प्रत्येक राजनीतिक नियुक्तिमा पेशागत क्षमता र दक्षतासँगै राजनीतिक आवद्धता अत्यावश्यक जस्तै भइसकेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको हो । अर्थमन्त्री र प्रधानमन्त्री तत्कालीन एमालेका छन् । तत्कालीन माओवादीका अध्यक्ष अहिले नेकपाका सहअध्यक्ष छन् ।

प्रधानमन्त्री ओलीका कितपय निर्णयहरु स्वभाविक अनुमान गरिएकाभन्दा फरक रुपमा आउने गरेका छन् । गभर्नर नियुक्तीमा पनि त्यस्तो नहोला भन्न सक्ने अवस्था भने छैन ।

त्यसैले तत्कालीन एमाले र तत्कालीन माओवादी निकटकै कुनै व्यक्ति गभर्नर बन्नेछ । त्यसमा पनि प्रधानमन्त्री र अर्थमन्त्री तत्कालीन एमालेबाट भएकाले गभर्नर पनि तत्कालीन एमाले निकटबाटै बन्ने बढी संभावना छ भनेर अनुमान गर्न सकिन्छ ।

अन्तिममा हुने राजनीतिक बार्गेनिङ र समीकरणले के गर्छ त्यो अहिले नै अनुमान गर्न सक्ने विषय भएन ।

गभर्नर पद शक्तिशाली मात्रै होइन, ग्ल्यामर पनि हो । किनभने गभर्नरले हस्ताक्षर गरेको नोट मात्रै चल्छ । सरकारको सल्लाहकारको रुपमा राष्ट्र बैंकले काम गर्छ भने बैंक तथा वित्तीय क्षेत्रको नियमन तथा सुपरिभिजन गर्छ ।

अन्य राजनीतिक नियुक्तिको तुलनामा राष्ट्र बैंकमा कम हस्तक्षेप हुन्छ । यसरी स्वायत्त भएर काम गर्न पाउने भएकाले पनि आकांक्षीहरु गभर्नर बन्न मरिहत्ते गर्छन् ।

राष्ट्र बैंकको नेतृत्वमा योग्य र सक्षम व्यक्तिहरू पुगे भने देशको अर्थतन्त्र सुधार गर्न उनीहरूले ठूलो योगदान दिनेछन् । राष्ट्र बैंक सरकारको सल्लाहकार मात्रै नभइ मौद्रिक नीतिमार्फत मुलुकको अर्थतन्त्र हाँक्ने स्वायत्त निकाय पनि हो ।

बहालवाला गभर्नरको कार्यकाल सकिने बेलामा सरकारले नयाँ गभर्नरका लागि सिफारिस कमिटी गठन गर्छ । र, उक्त कमिटिले ३ जनाको नाम सरकार समक्ष सिफारिस गर्छ । सिफारिसमा परेकाहरुको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव गर्छन् । र, मन्त्रिपरिषदले नियुक्ति गर्छ ।

सिफारिस गर्दा बहालवाला दुई डेपुटी गभर्नरमध्ये एकजनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था छ । अनियमितता गरेको आरोपमा सरकारको निर्देशनमा शिवराज श्रेष्ठमाथि छानविन भएपछि उनी निलम्बनमा परेका छन् । केही दिनमै सरकारले श्रेष्ठलाई बर्खास्ती गर्दैछ ।

त्यसैले नयाँ गभर्नरका लागि बहालवाला बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सिफारिस हुने निश्चित छ ।

चिन्तामणि शिवाकोटी
चिन्तामणि शिवाकोटी सिफारिस हुने निश्चित छ, त्यसैले उनी गभर्नरका स्वत दाबेदार हुन् । ५४ वर्षअघि तेह्रथुमको आठराई भन्ने ठाउँमा जन्मिएका शिवाकोटी ०३६ सालदेखि बामपन्थी निकट भएर काम गरिरहेका छन् । उनी एमालेका पूराना कार्यकर्ता हुन् ।

शिवाकोटीलाई धेरैले झापाली भन्छन् । तर, उनी पहाडबाट बसाइँ सरेर मोरङको अम्बरदह झरेका हुन् । प्रधानमन्त्री ओली पनि तेह्रथुमको आठराईमै ६५ वर्षअघि जन्मिएका थिए । पछि उनी झापाको दमक बसाईँ सरे ।

ओली र शिवाकोटीको चिनानाजनी पञ्चायतकालदेखि नै हो । शिवाकोटीले २०५२ सालमा बिजनेश प्रशासनमा स्नात्तकोतर गरेका छन् । अमेरिकाबाट फाइनान्स्यिल म्यानेजमेन्टमा एमबीए गरेका छन् । उनले कानुनमा स्नातक पनि गरेका छन् ।

शिवाकोटी २०४४ सालमा प्रधान सहायक (नासु स्तर) मा राष्ट्र बैंक प्रवेश गरेका हुन् । लिखित परीक्षाबाट बढुवा हुँदै कार्यकारी निर्देशकसम्म पुगेका शिवाकोटीलाई सरकारले ०७२ फागुन १९ गते ५ वर्षे कार्यकालका लागि डेपुटी गभर्नर नियुक्ति गरेको थियो । उनी सुपरभाइजर र अर्थशास्त्री दुबै हुन् ।

हक्की स्वभावका शिवाकोटी अहिले पनि पार्टीको कामलाई व्यावसायिक ढंगले प्राथमिकताका साथ गरिदिन्छन् । त्यसैले सरकारले उनलाई गभर्नर बनाउँछ भन्ने सर्वत्र चर्चा छ ।

मीनबहादुर श्रेष्ठ
डा. मीनबहादुर श्रेष्ठ नयाँ गभर्नरका लागि अर्का बलिया दाबेदार हुन् । तत्कालीन माओवादी निकट श्रेष्ठ राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही वर्षअघि अवकाश पाएका व्यक्ति हुन् ।

कांग्रेस माओवादी गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा श्रेष्ठ राष्ट्रियो योजना आयोगको उपाध्यक्ष पनि भएका थिए । डा. श्रेष्ठ नेकपा अध्यक्ष प्रचण्डसँग अति नै निकट व्यक्ति मानिन्छन् ।

नेकपाभित्रको शक्ति र पद बाँडफाडमा गभर्नर तत्कालीन माओवादीका भागमा पर्यो भने डा. श्रेष्ठ गभर्नर हुने पक्का छ । पार्टी एकीकरणपछि बनेको सरकारका धेरै योजना बनाउने काममा श्रेष्ठ सक्रिय छन् ।

श्रेष्ठले २०४६ सालमा कानूनमा एलएलबी, ०४८ सालमा राजनीतिशास्त्रमा एमए र ०४१ सालमा सार्वजनिक प्रशासनमा एमपिए गरेका छन् ।

सन् १९९४ मा बेलायतबाट बिजनेश प्रशासनमा एमबिए र २०६२ सालमा नेपालको वित्तीय उदारीकरणमा अष्ट्रेलियाबाट विद्यावारिधी (पीएचडी) गरेका छन् ।

राष्ट्र बैंकमा रहँदा उनी लामो समय अनुसन्धान विभागका काम गरेका थिए । श्रेष्ठ सुपरभाइजरभन्दा बढी अर्थशास्त्री हुन् । उनी तथ्यांकमा आधारित रहेर अर्थतन्त्रको विश्लेषण गर्छन्। श्रेष्ठका दर्जनौं पुस्तक तथा अनुसन्धान प्रतिवेदन राष्ट्रियरअन्तर्राष्ट्रिय संस्थाहरूले प्रकाशन गरेका छन्।

प्रचण्डसँग नजिक रहेका श्रेष्ठ गभर्नर पद खानकै लागि यो बीचको अवधिमा अन्य कुनै पद नखोजी बसेका छन् । पार्टीभित्रको शक्ति सन्तुलन र भागशान्तिमा प्रचण्ड निकै बलिया पात्र हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीसँग जसरी भएपनि श्रेष्ठलाई गभर्नर बनाउनुपर्छ भनेर अड्डी कसे भने श्रेष्ठ भावी गभर्नर हुने बलियो संभावना छ ।

महाप्रसाद अधिकारी
राष्ट्र बैंकको डेपुटी गभर्नरबाट ०७२ पुस १० गते अवकास पाएका महाप्रसाद अधिकारी ०७३ असार १० गते तत्कालीन ओली सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । उनको चर्चा गभर्नरमा छ ।

महाप्रसाद अधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले अन्य प्रतिस्पर्धीभन्दा बढी मन पराउँछन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर भएर काम गरेका थिए । उनीहरु दुईजना बीच ट्युनिक पनि मिलेको थियो । डा. युवराज खतिवडालाई गभर्नरका रुपमा सफल बनाउन अधिकारीको ठूलो हात छ भन्ने सर्वत्र चर्चा छ ।

५४ वर्षअघि खोटाङमा जन्मिएका अधिकारी अध्ययनका लागि काठमाडौं आएका थिए । अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरिसकेका छन् । उनलाई अब्बल सुपरभाइजर मानिन्छ ।

डेपुटी गभर्नरका रुपमा अधिकारी जति सफल भए, लगानी बोर्डको सीइओका रुपमा भने त्यति सफल हुन नसकेको चर्चा छ । यद्यपि राष्ट्र बैंकको बलियो संरचनामा काम गरेका उनले लगानी बोर्डमा कमजोर संरचनामा काम गर्नु परेको थियो ।

लगानी बोर्डमा रहँदा अधिकारीले प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष काम गर्न पाए । यस अर्थमा अधिकारी र ओलीबीचको सम्बन्ध पनि घनिष्ट रहेको अनुमान गरिएको छ । यदि प्रधानमन्त्री सकरात्मक भए भने अधिकारी गभर्नर हुने संभावना बलियो देखिन्छ ।

यद्यपि अहिलेसम्म प्रधानमन्त्री को प्रति बढी सकरात्मक छन् भनेर कसैले बुझ्न सकेका छैनन् । सबैले आफूप्रति सकरात्मक भएको विश्वास गर्दै आएका छन् ।

अधिकारी पूर्वएमाले निकट हुन् । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आफ्नो पार्टीका नहुँदानहुँदै पनि अधिकारीलाई डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । त्यसैले अहिले पनि उनको नाम सिफारिस हुने र उनी गभर्नर बन्ने चर्चा छ । उनले पनि भित्रभित्रै गभर्नर बन्ने ठूलो इच्छा व्यक्त गरेका छन् ।

राष्ट्र बैंकका सञ्चालक सुबोधलालक कर्ण, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठलगायतले पनि गभर्नरका लागि लविङ गरिरहेका छन् । यद्यपि उनीहरु शिवाकोटी, श्रेष्ठ र अधिकारीजस्तो बलियो दाबेदार नभएको बताइन्छ ।

यद्यपि कर्ण प्रधानमन्त्री ओलीका निकै प्रिय पात्र हुन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले नै कर्णलाई राष्ट्र बैंकको सञ्चालक बनाएका थिए ।

प्रधानमन्त्री ओलीका कितपय निर्णयहरु स्वभाविक अनुमान गरिएकाभन्दा फरक रुपमा आउने गरेका छन् । गभर्नर नियुक्तीमा पनि त्यस्तो नहोला भन्न सक्ने अवस्था भने छैन ।


पुष्प दुलाल