उद्योग राज्यमन्त्रीज्यूले निजी क्षेत्रलाई ज्वाँइ नै भन्नु भयो, तर धेरै भाऊ खोज्ने स्थिती नहाेस्: अर्थमन्त्री



बिराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले व्यवसायीलाई हतोत्तसाही बनाउने अवस्था सिर्जना नगर्ने बचन दिएका छन् ।

बिराटनगरमा आयोजित बिराट एक्सोमा बोल्दै अर्थमन्त्री खतिवडाले खास अवस्थामा खास परिस्थिती सिर्जना हुँदा व्यवसायिक स्वास्थ्यलाई कायम राख्न कानून मात्रै पालना गराएको समेत स्पष्ट पारे ।

‘यहाँ व्यवसायीहरुले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरणको विषय पनि उठाउनु भयो, हाम्रो उद्देश्य व्यवसायीलाई हत्तोत्साही गर्ने होइन । खास अवस्थामा केही कुरा सिर्जना भयो र व्यवसायिक स्वास्थ्यलाई कायम गराउन कानूनको पालना गराउनु पर्यो भने त्यो हदसम्म मात्रै यस्तो कानूनहरु आकर्षित हुने हो,’ उनले भने ।

तर कानून छ, अधिकार छ भन्दैमा त्यो सरकारले पनि दुरुपयोग नगर्ने स्पष्ट पारे ।

यसका लागि अर्थमन्त्रीले सम्बन्धित निकायहरुसँग बैठक गरी छलफल भइसकेको र एउटाले बिराउने सरकार तिराउने अवस्था हुन नदिने समेत प्रतिवद्धता जनाए ।

उनले उद्योगमन्त्रीतर्फ लक्षित गर्दैै, निर्धक्क भएर व्यवसाय गर्न आग्रह समेत गरे ।

‘उद्योग मन्त्रालयमा व्यवसायी नै मन्त्रीज्यू हुनुहुन्छ, मन्त्रीज्यूले त ज्वाँइ नै भन्नु भयो, तर धेरै भाऊ खोज्ने स्थिती नबनोस, हामी सबै आ–आफ्नो मर्यादामा बस्नैपर्छ,’ उनले भने ।

उनले सासु ससुराको मर्यादा पनि अलिअलि त राख्नै पर्ने हो भन्दै त्यसमा गच्छे अनुसारकै कुरा हुनेब बताए ।


क्लिकमान्डु