दाबी गरेजस्तो भेनेजुएला चलाउन सक्ला त ट्रम्प प्रशासनले ?


एजेन्सी । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी न्युयोर्कमा मुद्दा चलाएको छ ।

त्यसपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण पूरा नहुन्जेल चलाउने घोषणा गरेका छन् । तर, त्यो निकै कठिन छ ।

अहिलेको अवस्थामा भेनेजुएलाका मिलिसियाहरू, विशेषगरी बोलिभेरियन मिलिसिया र कोलेक्टिभोस भनेर चिनिने शहरी अर्धसैनिक सञ्जालहरू पछि हटेका छैनन् । तिनीहरू द्रुत गतिमा विकसित भइरहेको एक अराजक र खतरनाक प्रतिरोधका मुख्य संवाहक बनेका छन् ।

निकोलस मदुरो र उनकी पत्नीको अपहरणपछि काराकास परित्यक्त शहर बनेको छ । नागरिकहरू काममा जान छाडेका छन्, व्यापारिक मल तथा पसलहरू बन्द छन् र कोलेक्टिभोसका कारण मानिसहरू घरभित्रै बसिरहेका छन् ।

वामपन्थी अर्धसैनिकहरू अहिले राजधानीमा छ्यापछ्याप्ती छन् ।

मदुरोलाई हटाउन गरिएको छोटो सैन्य कारवाहीका क्रममा डेल्टा फोर्स र अमेरिकी वायुसेनाले रणनीतिक प्रभुत्व हासिल गरे पनि उनीहरूले आवासीय क्षेत्रहरूमा स्थायी नियन्त्रण कायम गर्न सकेनन् । त्यो रिक्तता स्थानीय स्तरमा टोल–टोलमा देखिएको छ ।

कोलेक्टिभोसले द्वन्द्वको स्वरूपलाई पनि नयाँ ढंगले परिभाषित गरेका छन् । कुनै समय ादुरोको रक्षाका लागि गरिएको संघर्षको रूपमा चित्रण गरिएको कुरालाई अहिले अमेरिकी कब्जाविरुद्धको उपनिवेशवादविरोधी युद्धको रूपमा पुनः व्याख्या गरिएको छ ।

यस भाष्यमा आएको परिवर्तनले महत्त्व राख्छ । यसले संघर्षलाई शासनको रक्षाबाट राष्ट्रिय प्रतिरोधमा परिवर्तन गरिदिएको छ र यसले वाशिङटनले उपलब्ध गराउने दाबी गरेको सुरक्षाका लागि कोलेक्टिभोसलाई मुख्य बाधा बनाएको छ ।

भेनेजुएलाको सेना अक्षम भएको अमेरिकी दाबीका बाबजुद रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेज उपराष्ट्रपति डेल्सी रोड्रिगेजसँगै राष्ट्रिय टेलिभिजनमा देखा परे र सशस्त्र बल तथा मिलिसियाहरू बोलिभेरियन क्रान्तिप्रति वफादार रहेको घोषणा गरे ।

यसले एकीकृत कमान्डलाई झल्काउँछ कि झल्काउँदैन भन्ने कुरा गौण हो । यसले निरन्तरता, अवज्ञा र प्रतिरोध गर्ने मनसायको संकेत गर्छ ।

राष्ट्रपति ट्रम्पले शर्तहरू तय गर्ने कुरामा अमेरिकाका युद्धसचिवले जोड दिएका छन् । व्यवहारमा ती शर्तहरू पहिले नै विषम युद्ध (एसिमेट्रिक वारफेयर) द्वारा पुनः लेखिँदैछन् । यो आशाजनक सुरुवात होइन ।

रोबर्ट ल्यान्सिङ इन्स्टिच्युटका अनुसार, अमेरिकाले आफूलाई हवाई शक्ति र विशेष अपरेसनमा मात्र सीमित राखेर भेनेजुएलीहरूलाई नै संक्रमण व्यवस्थापन गर्न छाडिदियो भने त्यहाँ विद्रोहको उदय हुने सम्भावना छ । त्यो अमेरिकी सैनिकविरुद्धको क्लासिक छापामार युद्धका रूपमा नभई शहरी अशान्ति, आतंकवाद र सहयोगीहरूमाथिको लक्षित आक्रमणको रूपमा हुनेछ ।

यसको विपरीत, अमेरिकी सैनिकहरूको ठूलो र लामो समयसम्मको उपस्थितिले निश्चित रूपमा अझ व्यापक र संगठित सशस्त्र प्रतिरोधलाई उत्प्रेरित गर्ने ल्यान्सिङले चेतावनी दिएका छन् ।

दुवै मार्गहरू अन्धकारमय छन् । ट्रम्पले यस्तो प्रक्रिया सुरु गरेका छन् जसलाई उनले सजिलै उल्टाउन सक्दैनन् र उनी वा उनका युद्धसचिवका लागि यसबाट बाहिरिने कुनै सहज बाटो छैन ।

आगामी ६ देखि १२ महिनामा छिटपुट हिंसा हुनेछ । बम विस्फोट, चाभिस्ता पक्षधर गढहरूमा सशस्त्र झडप, लक्षित हत्या र सत्ताको पतनको फाइदा उठाउँदै हुने कार्टेल–सम्बद्ध आपराधिक गतिविधिहरू बढ्नेछन् ।

अमेरिकाले भेनेजुएलाको भूमिमा प्रत्यक्ष र ठूलो मात्रामा सैन्य उपस्थिति कायम राखुन्जेल इराक मोडलको सम्भावना बढ्दै जानेछ । वाशिङटनले साँच्चै संक्रमणको तयारी नभएसम्म भेनेजुएलालाई चलाउने सोच राखेको भए त्यसका लागि ठूलो संख्यामा सैनिकहरू आवश्यक पर्नेछ र सम्भवतः गुमाउनु पनि पर्नेछ ।

तेलको मामिलामा यो विरोधाभास सबैभन्दा स्पष्ट छ । अमेरिकी अधिकारीहरूले भेनेजुएलाको तेल पूर्वाधार पुनर्निर्माणको बारेमा खुला रूपमा कुरा गरिरहँदा मिलिसिया र वफादार सैन्य एकाइहरूले विदेशी लुटपाट रोक्न ती सुविधाहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको छ ।

यो गतिशीलता ओरिनोको बेल्टमा पहिले नै देखिसकिएको छ जसले भेनेजुएलाको तेल उत्पादनको करिब दुईतिहाइ हिस्सा ओगट्छ । अमेरिकाले बन्दरगाह र टर्मिनलहरू नियन्त्रण गर्न सक्छ तर मिलिसियाहरूले पाइपलाइन र क्षेत्रहरू नियन्त्रण गर्छन् । उत्पादन तीव्र रूपमा घटिरहेको छ ।

ट्रम्पले भेनेजुएलाबाट निकालेर ठूलो मात्रामा तेल बेच्ने वाचा गरेका छन् । अहिलेका लागि त्यस वाचालाई विषम युद्धले रोकिरहेको छ । यो त्यस्तो परिघटना हो जसलाई अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार त गर्छन् तर यसको परिणामलाई कम आँक्छन् ।

अमेरिकाले तेल टर्मिनल र सुदृढ सरकारी भवनहरू चलाउन सक्छ । तर, भेनेजुएलाका मिलिसियाहरूले सडक र ग्रामीण क्षेत्रको ठूलो हिस्सा चलाइरहेका छन् ।

ट्रम्प र उनका सहयोगीहरूले यस्तो कानूनी र व्यवस्थापकीय दुःस्वप्नको सामना गरिरहेका छन् जसमा प्रत्येक शहरी टोल रक्तपातपूर्ण रणभूमि बन्ने जोखिम छ । उपलब्ध सबै सूचकहरूका अनुसार त्यो दुःस्वप्न सुरु भइसकेको छ ।