
काठमाडौं । मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचना अनुसार मध्यपूर्वका देशहरुमा हुने उडानहरुमा ढिलाइ, तालिका परिवर्तन वा रद्द हुन सक्ने जानकारी दिएको हो ।
आजका लागि निर्धारित जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका विभिन्न उडानहरु रद्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।
यसबाट विशेषगरी कुवेत, शारजाह, दुबई, दोहा र दमाम जाने तथा ती ठाउँबाट काठमाडौं आउने यात्रुहरु प्रत्यक्ष मर्कामा परेका छन् । एयर अरेबियाको हकमा भने आगामी २२ मार्च २०२६ सम्मका लागि उडान प्रभावित भएको उल्लेख छ ।
विमानस्थल कार्यालयले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरूसँग निरन्तर समन्वय गरिरहेको बताएको छ ।
यात्रा तय गर्नु अघि सम्बन्धित एयरलाइन्सको आधिकारिक वेबसाइट हेर्न वा तोकिएका सम्पर्क नम्बरहरुमा फोन गरेर मात्र विमानस्थल आउन यात्रुहरूलाई आग्रह गरिएको छ ।







प्रतिक्रिया