
विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशनको मुद्दा त्याग्दै संस्थापन पक्षसँग नजिकिएसँगै मंगलबार कोशी प्रदेश सरकारमा उनको गुटबाट प्रतिनिधित्व भएको छ ।
कांग्रेस र एमालेको गठबन्धन रहेको कोशी प्रदेश सरकारमा यसअघि संस्थापन पक्षसँग भागबण्डा नमिल्दा र दुई मन्त्रालय नपाएपछि कोइराला समूहबाट प्रदेश सरकारमा प्रतिनिधित्व थिएन ।
कोइराला समूहबाट प्रतिनिधित्व नहुँदा प्रदेशको स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन हुँदा कांग्रेसबाटै सहभागी भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयसमेत सम्हालेका थिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार एमाले र कांग्रेसबाट सहभागी पुराना सबै मन्त्रीलाई हटाएर पुरानै भागबण्डा र मन्त्रालय कायम राख्दै केही नयाँ अनुहारसहित मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मन्त्रिमण्डलमा कांग्रेसको तर्फबाट संस्थापन पक्षका प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनी यसअघि तीन पटक मन्त्री भइसकेका पात्र हुन् ।
इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री, कोइराला समूहबाट मानवहादुर लिम्बु स्वास्थ्य मन्त्री तथा कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । त्यसैगरी कांग्रेसको तर्फबाट शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।
यसअघि कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल तथा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम थिए ।
त्यसैगरी एमालेबाट विदुरकुमार लिङथेप आर्थिक मामिला तथा योजना मन्त्री, इन्द्रमणी पराजुली आन्तरिक मामिला तथा कानून मन्त्री, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री र रामप्रसाद महतो सामाजिक विकास मन्त्री बनेका छन् । त्यसैगरी उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
यसअघि एमालेबाट आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सिर्जना राई राज्यमन्त्री थिइन् ।








प्रतिक्रिया