पूर्वपश्चिम रेलमार्गका लागि फेरि डीपीआर गरिने, जनकपुरमा चैतसम्म रेल आइसक्छ- रेल विभाग



काठमाडौं । रेल विभागले कुर्था—जनकपुर—जयनगर चल्ने रेल ढिलोमा चैल मसान्तसम्म सञ्चालनमा आउने बताएको छ ।

नेपाल सरकारले भारतसँग २ वटा रेल जीटुजी प्रक्रियाअन्र्तगत रेल ल्याउन लागेको हो । करिब ८५ करोड रुपैयाँ लागतमा भारतमा निर्माण भइरहेको २ वटा रेलमध्ये एउटाको काम सकिएको रेल विभागको महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उनका अनुसार सरकारले हालसम्म २० प्रतिशत रकम भुक्तानी गरिसकेको छ । निर्माणधीन रेलको आवश्यक निरीक्षण पूरा समेत भएको उनले जानकारी दिए ।

उनले भारत सरकारले दुबै रेल ढिलोमा चैतभित्रमा जनकपुरमा डेलिभरी गरिसक्ने जानकारी दिए ।

जनकपुर-कुर्था-जयनगरमा सञ्चालन हुने रेलमार्गको लम्बाइ ३५ किलोमिटर रहने छ । विभागका अनुसार उक्त रेलमार्गमा थप १७ किलोमिटर महात्तरीको बिजलापुरासम्म जोड्ने विभागको भनाइ छ ।

त्यस्तै, पूर्वपश्चिम कुल ९ सय ४५ किलोमिटर लम्बाइ हुने रेलमार्गको डीपीआर सकिए पनि केही ठाउँमा फेरि डीपीआर गर्नुपर्ने मिश्रले बताए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा पुनः डीपीआर गरिनेछ ।

विभागका अनुसार यो रेल निर्माणमा प्रतिकिलोमिटर ५० करोड रुपैयाँ खर्च हुनेछ । डीपीआर पूरा भइसकेपछि रेल निर्माणका लागि विदेशी लगानी लिने वा नलिने निर्णय हुनेछ ।

त्यस्तै विभागलाई आवश्यक जनशक्ति करारमा नियुक्ती गर्न मन्त्रिपरिषदले सैद्दान्तीक सहमति दिइसकेको छ । विभागले २६ जना दक्ष जनशक्ति नेपालबाट वा नेपालमा प्राप्त नभए भारतबाट ल्याउनेछ ।

त्यसका लागि शुरुमा नेपालीका लागि विज्ञापन गरिनेछ भने पदपूर्ती हुन नसके विदेशीका लागि विज्ञापन गर्ने विभागको तयारी छ । सरकारले दरबन्दीका लागि विभिन्न पदमा २०० जना माग गर्न अनुमति दिइसकेको छ ।

विभागले यसका प्रक्रिया समेत अघि बढाइसकेको छ । विभागले हाललाई करारमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु