भैरहवास्थित गौतमबुद्ध विमानस्थलको काम सकिएन, तीन महिना समय थपियो



भैरहवा । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ७ जनवरी २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो । ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ ।

ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक ९एडिबी० को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताए । ‘३१ मार्च ३१, २०२० अर्थात आगामी चैत १८ गतेसम्म म्याद थप भएको छ,’ उनले भने ।

सन् २०१४ डिसेम्बर ३१ मा कार्यादेश पाई त्यसैअनुरुप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ जुन २ अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भएको थियो । विश्वव्यापी बोलपत्र आह्वानमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ‘टेन्डर’ पारी आवश्यक सम्झौता गरी २०७१ माघ १ गतेदेखि निर्माण गरेको थियो । शुरुमा कूल छ अर्ब २२ करोड ५१ लाख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए पनि उक्त रकममा पुनः ‘भेरिएसन’ भएको छ ।

निर्धारित समयमा काम नसकिएपछि पुनः सन् २०१८ जनवरी १ सम्मका लागि म्याद थप भए पनि थपिएको म्यादमा काम सम्पन्न नभएपछि फेरि २०१९ जुन २८ सम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समय सीमा दिइएको थियो । उक्त अवधिमा पनि काम सम्पन्न नभएपछि प्राधिकरणले अन्तिम सीमा भन्दै तीन महिना समयावधि थपेको छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब चार प्रतिशत सिभिलको काम र १० प्रतिशत विद्युतीय तथा उपकरणसम्बन्धी काम बाँकी छ । उनले आइसिपी–१ का धेरै काम सम्पन्न भएको बताए । तर आइसिपी–२ का धेरै काम बाँकी छन् ।

आइसिपी–१ भित्र धावन मार्ग, ट्याक्सी मार्ग, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल रुम, कार पार्किङ, धावन मार्गको बत्ती, जहाज पार्किङ रहेको अधिकारीले बताए । उनका अनुसार आइसिपी–१ को टर्मिनल भवनको फिनिसिङ र उपकरण जडान बाहेक अन्य काम सम्पन्न भइसकेको छ । अब १४ प्रतिशत काम बाँकी छ ।

यसैगरी आइसिपी–२ मा उपकरण जडान र फाउन्डेसनको काम बाँकी रहेको आइसिपी–२ हेरिरहेका उपनिर्देशक प्रवीण न्यौपानेले बताए । उनले सञ्चार ९कम्युनिकेशन०, पथप्रदर्शन ९नेभिगेशन० जहाजलाई कुन दिसामा लाने भन्ने र मौसम मेटेरोलोजी० सम्बन्धी काम आइसिपी–२ मा हुने बताए । त्यसका लागि उपकरण ९० प्रतिशत आइसकेको छ । तर आइसिपी १ र २ अन्तरसम्बन्धित छन् । आइसिपी–१ कै कारण आइसिपी–२ को काममा ढिलाइ भएको न्यौपानेले बताए ।

उपनिर्देशक न्यौपानेले सबै काम सक्दा पनि अझै कम्तीमा ३ महिना लाग्ने बताए । विमानस्थल निर्माणका क्रममा बारम्बार समायवधि थपिँदा भेरिएसनसमेत बढेर गएको छ । अहिले ९। ६२ प्रतिशत भेरिएसन भई ६ अर्ब ८२ करोड २६ लाख १८ हजार ७६ रुपैयाँ ८५ पैसा हुन पुगेको छ ।

सम्झौताअनुसार २०१९ डिसेम्बर ३१ सम्म आइसिपी–१ र २०२० जनवरी ७ सम्ममा आइसिपी–२ को सबै काम सम्पन्न गर्नुपर्ने थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै नसकिनुको पछिल्लो कारण खुल्न सकेको छैन तथापि ठेकेदार पक्षले चाडपर्व र मौसमी कारणले ढिलाइ भएको बताएको छ ।

यसअघि ३ पटकसम्म समयावधि थप्दा विद्युतलाई मुख्य समस्या देखाइएको थियो । गत मङ्सिर १८ गते नेपाल विद्युत् प्राधिकरण भैरहवाले ११ हजार भोल्टेजको चार मेघावाट क्षमताको डेडिकेटेड लाइन विमानस्थलमा जडान गरिसकेको छ । विद्युत् जडान भए पनि अहिलेसम्म विद्युतीय काम भने हुन सकेका छैन ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले कामबापत अहिलेसम्म रु तीन अर्ब ७६ करोड बुझिसकेको छ । विमानस्थलको कन्सलट्यान्टको जिम्मा युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्तरूपमा गर्दै आएका छन् ।

विमानस्थल निर्माणका लागि ६२५ घर परिवार यतिबेला मुआब्जा रकम बुझेर अन्यत्र गइसकेका छन् । सरकारले मुआब्जाका लागि मात्रै रु २३ अर्ब ५९ करोड विनियोजन गरेको मध्ये रु २१ अर्ब वितरण गरिसकेको छ । आयोजना प्रमुख अधिकारीले मुआब्जा ९३ प्रतिशत वितरण भइसकेको छ । अब कुनै समस्या छैन । तथापि समयमा काम नसकिएकोले म्याद थप गरिएको बताए ।

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । विसं २०६१ अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा २०६३ सालमा २१३ बिघा चार कठ्ठा १५। ७५ धुर थप भएको थियो । पछि थप ५०० बिघाको मुआब्जा वितरण भएको थियो ।

यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्वमा ७८७ बिघा सात कठ्ठा १५ दशमलव ७५ धुर हुन पुगेको छ । अहिलेसम्म पोखरामा ३ हजार ७०० रोपनी र काठमाडौँमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो ।

नयाँ थपिएको जग्गामा राडार, सुरक्षा, ह्यङ्गर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, अर्को पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन बनिरहेका छन् ।


क्लिकमान्डु