कामनपाको सहयोगमा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट, तीन करोड विनियोजन



काठमाडौं । काठमाडौं महानगरपालिकाले गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ ।

शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि निःशुल्क अक्सिजन उपलब्ध गराउन आवश्यक पर्ने अक्सिजन प्लाण्ट र त्यससम्बन्धि उपकरण खरिदका लागि लाग्ने सम्पूर्ण रकम महानगरपालिकाले उपलब्ध गराउने उल्लेख छ । त्यसका लागि काठमाडौँ महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ ।

महानगरपालिकाका मेयर शाक्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही गरौँ भन्ने उद्देश्यले यस्तो कामको थालनी गरेको बताए । ‘हामीले यस अघि नै कान्तिबाल अस्पताललाई पनि अक्सिजन प्लाण्ट जडानका लागि दुई करोड दिने सम्झौता गरेका छौँ । फेरि ब्लड सेक्रेसनका लागि थप एक करोड दिने भनेका छौँ,’ उनले भने, ‘त्यसैगरी विरेन्द्र अस्पताल छाउनीसँग पनि हेमोडाइलसिस मेसिन राख्नका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरिसकेका छौँ । त्यहाँ काम सुरु भएको छ ।’
मेयर शाक्यले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही सहयोग गरौँ भन्ने उद्देश्यले नै यस्ता कामको थालनी गरेको बताए । उनले महानगरपालिकाकै सहयोगमा नेपाल एम्बुलेन्स सेवाले १० ओटा एम्बुलेन्समार्फत सेवा दिइरहेको पनि स्मरण गराए ।

‘स्वास्थ्य सेवाका क्षेत्रमा त्यस्तो केही सहयोग गर्नुपर्ने छ भने तपाईँहरुले वडामार्फत योजना लिएर आउनु होला हामी अझै सहयोग गर्न तयार छौँ,’ शाक्यले भने, ‘तपाईँ–हामी सबै मिलेर मात्रै अघि बढ्न सक्छौँ ।’

कार्यक्रमलाई अस्पतालका कार्यकारी निर्देशक डा.अधिकारीले महानगरपालिकाको यस्तो सहयोगबाट आफूहरु उत्साहित भएको भन्दै २० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस अस्पतालमा स्वास्थ्य सेवा लिनेहरुको अत्याधिक भीड बढिरहेको अवस्थामा यस्तो सहयोगले निकै सहज हुने बताए ।


क्लिकमान्डु